२०७७ चैत्र ३० , सोमवार

एनआईसी एशियाको २० प्रतिशत लाभांश पारित

सुनाखरी न्युज/ काठमाडौं – एनआईसी एशिया बैंकको प्रस्तावित २० प्रतिशत लाभांश पारित भएको छ । आज (मंसिर २१ गते) सम्पन्न बैंकको २३ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै बैंकका सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १९ प्रतिशत बोनस र १ प्रतिशत नगद(कर प्रयोजनको लागि) गरी २० प्रतिशत लाभांश पाउने भएका छन् । १९ प्रतिशत बोनश सेयर पारित गरेपश्चात् बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।

बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । सभा काठमाडौंको थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्य सम्बन्धी निर्देशन एवं मापदण्डहरूको परिपालना गर्दै वार्षिक साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने व्यवस्था गरिएको थियो ।

हाल बैंकले ३३० शाखा कार्यालयहरू, ४७० एटिएम, ९९ वटा एक्स्टेन्सन काउण्टर एवं ७४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।