२०७७ माघ १५ , बिहिवार

ठमेलमा रात्रीकालीन व्यवसायीहरुको प्रदर्शन, कोरोना रातिमा मात्रै लाग्छ सरकार ?

सुनाखरी न्युज/ काठमाडौं – ठमेलका व्यवसायीहरुले रात्रीकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै बुधबार प्रदर्शन् गरेका छन् । कोभिड–१९ महामारीको जोखिमका कारण विगत आठ महिनादेखि व्यवसाय बन्द हुँदा रात्रिकालीन व्यवसायीहरु चरम आर्थिक संकटमा परेको भन्दै व्यवसायीहरुले विभिन्न नारा लेखिएका व्यानर लिएर सडक छेउमा उभिएर प्रदर्शन गरेका हुन् ।

 

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीबाट रात्रीकालीन व्यवसाय खोल्ने निर्णय नभएसम्म आन्दोलनलाई जारी राख्ने बताए । अध्यक्ष राणाले अबपनि व्यवसाय सञ्चालन गर्न नपाए रोगले भन्दा पनि भोकले मर्ने स्थिति आएको बताए । उनले सरोकारवाला निकायमा ज्ञापन पत्र बुझाउँदा समेत कुनै सुनुवाइ नभएपछि विरोध प्रदर्शनमा उत्रिन बाध्य भएको बताए ।

 

रात्रीकालीन व्यवसायीहरुले कोरोना रातिमा मात्रै लाग्छ र सरकार रु ‘पहिलाकै अवस्थामा व्यवसाय खोल्न देऊ’, ‘सरकार व्यवसाय खोलौं कि आत्महत्या गरौं’, व्यवसाय खोलौं मजदुर बचाउँ ‘रोग भन्दा भोक ठूलो’लेखिएका ब्यानर लिएर बिरोध प्रदर्शन गरेका थिए ।