२०७७ चैत्र ३१ , मंगलबार

बाल यौन दुरुपयोग तथा अप्राकृतिक मैथुन गरेको अभियोगमा पक्राउ

सुनाखरी न्युज/ कास्की – बाल यौन दुरुपयोग तथा अप्राकृतिक मैथुन गरेको अभियोगमा पोखरा महानगरपालिका-६ खहरे बस्ने फ्रेन्च नागरिक राहदानी नम्बर १२ ए एक्स २६६६७९ बाहक ६० वर्षीय Christian, Serge, Henri Nougaret लाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

 

पोखरा महानगरपालिका-१७ बिरौता पावरहाउस फुस्रेखोला बगरमा ७ वर्षीय, ८ वर्षीय र १२ वर्षीय गरी ३ जना नाबालकलाई बाल यौन दुरुपयोग/शोषण गरिरहेको अवस्थामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा उनलाई पक्राउ गरेको हो । बिभिन्न हिसाबले नेपाल प्रवेश गरेका तथा नेपालमा आई बसेका केही विदेशी नागरिकहरु बाल यौन दुरुपयोग/शोषण कार्यमा संलग्न रहेको भन्ने सूचनाको आधारमा उक्त ब्यूरोबाट विशेष सूचना परिचालन तथा कारवाही गर्ने क्रममा उनलाई फेला पारी पक्राउ गरेको हो ।

 

पेशाले कम्प्युटर ईन्जिनियर रहेका उनी ‘नन टुरिष्ट भिसा’मा नेपालमा बसोबास गरिरहेको खुल्न आएको छ । उनलाई बाल यौन दुरुपयोग तथा अप्राकृतिक मैथुन गरेको कसूरमा आवश्यक अनुसन्धान गरी कारवाही प्रकृया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाईएको तथा पीडित ३ जना नाबालकलाई उद्धार गरी अभिभावकलाई जिम्मा लगाइएको उक्त ब्यूरोले जनाएको छ ।