२०७७ चैत्र २९ , आइतवार

घटेन सेयर बजारको उत्साह, नेप्से २००० विन्दुमा

सुनाखरी न्युज/ काठमाडौं – सेयर कारोबार रकमले मंगलबार पनि लगानीकर्तालाई उत्साहित बनाएको छ । नेप्से सूचक ठ्याक्कै २०००.४० विन्दुमा हजार बसेको छ । लगानीकर्ताका लागि मनोवैज्ञानिक रेखा मानिने २००० हजार विन्दुमै नेप्से अडिएपछि लगानीकर्ता थप उत्साहित बनेका छन् । बजारले अब अर्को उचाई लिने विश्लेषणहरु भइरहेका छन् । किन भने नेप्सेले यसअघिको अल टाइम हाइ १८८१ लाई सजिलै पार गरेर नयाँ ऐतिहासिक विन्दुतिर अघि बढिरहेको छ ।

 

यतिबेला आम लगानीकर्तामा निकै उच्च मनोबल देखिएको छ । हाम्रो बजार जहिले पनि चक्रीय प्रणालीमा हिँड्ने गरेको छ । यसबीचमा नेप्सेले ४ वर्ष लामो वियरिस यात्रा पार गरिसकेको छ । सोही कारण पनि अब बुलिस प्रवृत्तिमा बजार अघि बढेको विश्लेषणहरु हुन थालेको छ । बजार बुलिस क्रममा रहँदा लगातार भाउहरु वृद्धि भइरहनुलाई स्वभाविक मानिन्छ । यतिबेला बजार इन्ट्रा डे करेक्सनमै सीमित भएको छ । मंगलबार वाणिज्य बैंकहरुको सेयर भाउमा केही करेक्सन देखिएको छ । तर बिमा, उत्पादनमूलक तथा अन्य समूहमा तेजी आएको छ । नेप्से केही तलमाथि हुँदै अघि बढिरहेको देख्न सकिन्छ । वित्तीय प्रणालीमा अधिक तरलता अनि सस्तो ब्याजदरले सेयर बजार वृद्धिमा निकै राम्रो भूमिका खेलिरहेको देखिन्छ । बैंकहरुले पनि सहज तरिकाले सेयर कर्जा प्रवाह गरिरहेका छन् ।

यसैगरी, अनलाइन प्रविधि प्रयोगका कारण लगानीकर्तालाई सेयर खरिदबिक्रीमा निकै सजिलो भएको छ । घरमै बसेर आफैंले सेयर किनबेच गर्न सक्ने भएका छन् । यसबाट कारोबार रकममा अझै उछाल आउन सहयोग पुगेको हो । ब्रोकरलाई दिइएको नेटिङको सुविधाले पनि कारोबारमा उमंग ल्याउन सहयोग पुगेको हो । खरिद र बिक्री दुवैको हिसाब मिलाएर कारोबारको सेटलमेन्ट गर्ने सुविधा ब्रोकरहरुलाई छ । यसैगरी, बैंकहरुले सहजरुपमा सेयर कर्जा दिइरहेका छन् । अगुवा लगानीकर्ताहरु बजार बढ्दा वा घट्दासमेत नेप्से सूचकलाई मात्र आधार नमान्न सुझाव दिने गर्छन् । समग्रमा नेप्से सूचकको प्रवृत्ति महत्वपूर्ण भए पनि विशेष गरेर आफूले लगानी गरकै कम्पनीमा बढी ध्यान दिनुपर्छ । लगानी गर्ने कम्पनीको समग्र अवस्था जस्तो, नाफा, रिजर्भ, प्रतिसेयर आम्दानी, कम्पनी सञ्चालक, व्यवस्थापक अनि भविष्यमा कम्पनीको योजना लगायतलाई ख्याल गर्न आवश्यक हुन्छ । साथै, लगानीकर्ताले होल्ड गर्न सक्ने अवधिमा पनि विचार पुर्याउनुपर्छ ।

 

जोखिम बहन क्षमतालाई पनि ख्याल गर्न आवश्यक हुन्छ । नेप्से सूचक ३.३५ अंकले बढेको छ । कुल १९७ कम्पनीको ७ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १ करोड ८५ लाख ७६ हजारभन्दा बढी कित्ता कारोबार भएका छन् । कुल १२ समूहमध्ये ५ समूहको सूचक हरियो बनेका छन् । सबैभन्दा धेरै जीवन बिमा समूह चम्किएको छ । वाणिज्य बैंक समूहको सूचक भने ओरालो लागेको छ । ५ कम्पनीको भाउ ९% भन्दा बढीले वृद्धि भएको छ । खरिदबिक्रीमा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा छ । यसको ६५ करोड ७९ लाख रुपैयाँभन्दा बढीको खरिदबिक्री भएको छ । यसैगरी, दोस्रोमा नेपाल टेलिकम र तेस्रोमा नेपाल लाइफ इन्सुरेन्स परेका छन् ।