२०७७ चैत्र ३१ , मंगलबार

राइड सेयर बजारमा आयो एटेन्ड

सुनाखरी न्युज/ काठमाडौं – राइड सेयर बजारमा नयाँ कम्पनीको प्रवेश भएको छ। मोटरसाइकल, एम्बुलेन्सदेखि हेलिकप्टरसम्मको सेवा लिएर एटेन्डु एप सार्वजनिक भएको हो। यो एप गुगल प्ले र एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ। यो अहिले नेपालमा चलिरहेको सामान्य राइड सेयरभन्दा भिन्न रहेको एटेन्ड प्रालिका निर्देशक भिमकान्त भण्डारीले जानकारी दिए।

 

मोडल त हाम्रो पनि राइड सेयर नै हो। तर हाम्रो सेवा र सुविधा अरूभन्दा भिन्न छ। हामीले मोटरसाइकल, एम्बुलेन्स, शववहान, ट्याक्सी, कार, जिपको सेवा दिन्छौं, उनले भने, त्यस्तै हेल्थ सर्भिस र प्याकेज सुविधा पनि छ। सबै सवारी साधन काठमाडौं उपत्यका बाहिरका लागि पनि बुक गर्न सकिने उनले बताए। एटेन्डले हेल्थ केयर अन्तर्गत घरमै औषधि पुर्‍याउने, पिसिआर जँचाउन स्वाब लिन घरमै मान्छे पठाउने काम पनि गर्ने उनले जानकारी दिए। त्यस्तै प्याकेज सुविधा अन्तर्गत गाडी बुक गर्न सकिन्छ। यसमा चालकसहित वा चालकबिनाको गाडी लिन सकिन्छ। त्यस्तै इन्धनसहित वा आफैंले इन्धन हाल्छु भन्नेलाई त्यही अनुसार सुविधा दिइएको भण्डारीले जानकारी दिए। कम्पनीले केही दिनमै हेलिकप्टर बुकिङको सुविधा ल्याउने तयारी थालेको उनले बताए।

 

अहिले चलिरहेको बीमा सम्बन्धी विषय सम्बोधन गर्न सबै गाडी तथा मोटरसाइकलको बीमा गरिदिने पनि कम्पनीको दावी छ। भण्डारीका अनुसार कम्पनीले ग्राहकको सुविधाका लागि जति दिन अगाडिको पनि बुकिङ लिन मिल्ने व्यवस्था गरेको छ। त्यस्तै मोटरसाइकल राइडरबाट कम्पनीले १० प्रतिशत कमिसन लिने बताएको छ। एम्बुलेन्स र शववहानबाट भने कुनै कमिसन नलिने उनले बताए। एटेन्ड प्रयोगकर्ताले मोटरसाइकलमा राइड सेयर गर्दा प्रतिकिलोमिटर १४ रुपैयाँ तिर्नु पर्छ। यति मात्र होइन, एटेन्टबाट अन्य गाडी बुक गर्दा पनि बाहिरभन्दा सस्तो पर्छ, उनले भने। यो एपमा इमर्जेन्सी बटन पनि छ। यो दबाएमा नम्बर सेट गरिएको आफन्तको मोबाइलमा म्यासेज र प्रहरी चौकीमा फोन जाने भण्डारीले बताए। पैसा तिर्न सजिलो होस् भन्ने उद्देश्यले कम्पनीले नगद बाहेक जुनसुकै बैंकको एटिएमबाट पनि तिर्न मिल्ने प्रणाली विकास गरेको छ।

 

हाल कम्पनीमा करिब ३ सय गाडी आबद्ध भइसकेको छ भने ट्याक्सी र बाइकलाई क्रमशः आबद्ध गराउँदै लगिरहेको भण्डारीले जानकारी दिए। एम्बुलेन्स त हामी सबै आबद्ध गराउँछौं। प्राइभेट गाडी पनि करिबकरिब आबद्ध भइसके। ट्याक्सी र बाइक पनि बिस्तारै भइरहेका छन्, भण्डारीले भने।