२०७७ चैत्र ३१ , मंगलबार

जुलुस र प्रदर्शन नगर्न काठमाडौं जिल्ला प्रशासनको अनुरोध (विज्ञप्ति सहित)

सुनाखरी न्युज/ काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौं जिल्ला प्रशासनले संक्रमणको स्थितिलाई भयावह बनाउने क्रियाकलाप नगर्न आग्रह गरेको हो ।

 

पछिल्लो समय काठमाडौंमा विभिन्न माग राखी राजनैतिक तथा अन्य भीडभाडजन्य गतिविधि बढिरहेको भन्दै प्रशासनले त्यस्ता गतिविधि नगर्न सूचना जारी गरेको छ । भीडभाडजन्य गतिविभि सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन स्थानीय प्रशासन ऐन–२०२८, र संक्रामक रोग ऐन २०२० विपरीत हुने पनि प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

प्रशासनको अनुरोध विपरीत सभा, सम्मेलन, जुलुस गरी भीडभाड बढाएमा स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने पनि विज्ञप्तिमा उल्लेख छ । पछिल्लो समय काठमाडौं लगायत मुलुकका विभिन्न जिल्लामा विभिन्न माग राखेर केही समूहले प्रदर्शन गरिरहेका छन् ।