२०७८ बैशाख ३ , शुक्रवार

१३ औं सागको खर्च विवरण आज सार्वजनिक हुँदै

सुनाखरी न्युज/ काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद ‘साग’ को खर्च वितरण आज सार्वजनिक हुँदैछ । खेल सकिएको एक वर्षपछि राष्ट्रिय खेलकुद परिषद ‘राखेप’ ले त्यसको खर्च विवरण सार्वजनिक गर्न लागेको हो ।

 

खर्च विवरण सार्वजनिक गर्न राखेप सदस्य सचिव रमेशकुमार सिलवालले आज दिउँसो पत्रकार सम्मेलनको आयोजना गरेका छन् । सिलवाल दोहोर्‍याएर सदस्य सचिव भएको पाँच महिनापछि खर्च सार्वजनिक गर्न लागेका हुन् । साग आयोजना तथा सञ्चालन कार्यविधिमा प्रतियोगिता सम्पन्न भएको तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गर्नुपर्ने उल्लेख छ । गत वर्ष मंसिर १५ देखि २४ गते सम्म साग काठमाडौं, पोखरा र जनकपुरमा भएको थियो ।

 

सदस्य सचिव सिलवालले तीन महिनाभित्र खर्च सार्वजनिक गर्ने भनेपछि अहिलेसम्म खर्च सार्वजनिक भएको थिएन । सरकारले सागका लागि तीन अर्ब रुपैया उपलब्ध गराएको थियो । सागमा सरकारले उपलब्ध गराएको रकम बचत भएको राखेपले जनाउँदै आएको छ । सागमा अनियमिता भएको भन्दै अख्तियारमा समेत उजुरी परेको छ । नेपालले १३ औं सागमा ऐतिहासिक ५१ स्वर्ण, ६० रजत र ९६ कास्यगरी कुल २ सय ७ पदक जितेको थियो ।