२०७७ चैत्र ३० , सोमवार

फोन पे डिजिटल इकोनोमी कल्क्लेभलाई प्रधानमन्त्रीओलीले गर्नुभएको भर्चुअल सम्बोधन यस्तो छ

सुनाखरी न्युज/ काठमाडौं – निकै अफ्ठेरो र अध्याँरो समयमा उज्यालो, सजिलो र प्रभावकारी पक्ष पनि छ है भन्ने सन्देश दिने गरी फोनपे डिजिटल इकोनोमी कन्क्लेभ आयोजना गर्नुभएकोमा  आयोजकहरुलाई धन्यवाद दिनु भएको छ ।

 

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
निकै अफ्ठेरो र अध्याँरो समयमा उज्यालो, सजिलो र प्रभावकारी पक्ष पनि छ है भन्ने सन्देश दिने गरी फोनपे डिजिटल इकोनोमी कन्क्लेभ आयोजना गर्नुभएकोमा सर्वप्रथम म आयोजकहरुलाई विशेष बधाई र शुभकामना भन्न चाहन्छु । कोरोना महामारीका कारण नेपाल मात्रै होइन, संसारका हरेक देश समस्यामा परेका छन् । विश्व अर्थतन्त्र नै संकूचनमा गएको छ । केही देशहरू आर्थिक मन्दीको चपेटामा परिसकेका छन । समग्र एसियाको आर्थिक बृद्धि नकारात्मक हुनसक्ने एसियाली विकास बैकको अध्ययनले देखाएको छ । नेपालको अर्थतन्त्रमा पनि कोरोना महामारीको प्रभाव आँकलन गरिएभन्दा बढी हुने संकेतहरु देखिइसकेका छन् । कोरोना महामारी नियन्त्रण र रोकथाम गर्न तथा त्यसका कारण अर्थतन्त्रमा पुगेको क्षति न्यूनीकरण गर्दै अर्थतन्त्रको पुनरुत्थान गर्न मेरो नेतृत्वको सरकारले सबै प्रयत्नहरु जारी राखेको छ । मैले निजी क्षेत्रलाई भनिसकेको छु– सरकारको मन गरिब छैन, गच्छेअनुसारको सहयोग र समन्वय गर्न दृढ छ ।

 

यो समय प्रतिकूल मात्र छैन । यही महामारीका बीच कतिपय क्षेत्रहरुले आशाको किरण देखाएका छन् । अहिले विश्वको ध्यान डिजिटल अर्थतन्त्रको खोज र विकासमा लागेको छ, यस क्षेत्रमा लगानी बढिरहेको छ, नयाँ आविष्कार र नव प्रवर्तन भइरहेका छन । कोरोनाले हरेक मानिसबीच दूरी बढाइदिएको समयमा डिजिटल कमर्श, डिजिटल पेमेन्टलगायतका पक्षहरु तपाईं हामीलाई जोड्ने माध्यम बनिरहेका छन् । समग्रमा, मैले डिजिटल क्षेत्र विश्वकै नयाँ र उच्चदरको आर्थिक बृद्धको माध्यम हुनसक्ने संभावना देखेको छु । जनसंख्याको ५० प्रतिशतको हाराहारी नेपालको युवा जनशक्तिको नवप्रवर्तनप्रतिको बढ्दो लगावले नेपालमा डिजिटल क्षेत्रको विकासमार्फत आर्थिक विकासलाई अगाडि बढाउन सकिने अझ बढी संभावना देख्दछु । कोरोना महामारी नियन्त्रण गर्न बाध्यात्मकरुपमा लगाइएको बन्दाबन्दीले भौतिक सम्पर्कलाई निषेध गर्दा ई–कमर्श, अनलाइन सपिङ, डिजटिल बैंकिग र ई–लर्निंग लगायत डिजिटल उपचार, व्यवसाय र क्रियाकलापहरु नेपालका शहरी क्षेत्रहरूमा मात्र होइन, धेरै स्थानमा आम जीवनको अंग बनेका छन् । यी कुराहरुले नै नेपाललाई डिजिटल युगमा प्रवेश गर्न आधार दिएका छन् भन्ने मलाई लागेको छ । ब्रोडब्याण्डमात्र होइन, मोबाइलमार्फत समेत इन्टरनेट प्रयोगकर्ता बढिरहेका कारण डिजिटल प्रणालीमैत्री वातावरणलाई सहज भइरहेको छ ।

दिदीबहिनी तथा दाजुभाइहरू,
मेरो नेतृत्वको सरकारले मन्त्रिपरिष्दको बैठकलाई कागजको प्रयोगरहित अर्थात् पेपरलेस बनाएको छ, सिंहदरबार र बालुवाटारमा एक्सन रुमहरु स्थापना गरी भर्चुअल प्रविधि प्रयोगको शुरुवात र अभ्यास गरेको छ, मैले सिंगापुरमा उपचारको क्रममा रहँदा मन्त्रिपरिषदका सदस्यहरुसँग भर्चुअल मिटिङ पनि गरेको यहाँहरुलाई सम्झना रहेको हुनुपर्दछ । त्यतिबेला कतिपय मानिसहरुले महत्व, औचित्य र आवश्यकता बुझ्न नसके पनि आजत्यसको सान्दर्भिकता र महत्व व्यवहारतः नै पुष्टि भएको छ ।

अहिले हामीले सिंहदरबारबाट ७५३ स्थानीय तह, ७७ जिल्ला र ७ वटै प्रदेशका उद्घाटन, शिलन्यास, अन्तक्रिया, समन्वयात्मक छलफल, परामर्श र सम्बोधन गर्नसक्छौं,यसमा डिजिटल प्रविधिको प्रयोगले हामीलाई धेरै सहज र मितव्ययी बन्नसंभव तुल्याएको छ । विदेशस्थित नियोगहरु र नेपालीहरुमाझ मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि डिजिटल माध्यमबाट भर्चुअल सहभागिताको अभ्यास गरिरहेका छौं । यसरी डिजिटल प्रविधिको प्रयोग व्यापक रुपमा भइरहेको छ । नेपाल सरकारले पनि डिजिटल नेपालको अभियानअन्तर्गत सबै आर्थिक र गैरआर्थिक गतिविधिलाई डिजिटल माध्यममा रुपान्तरित गर्ने प्रयास गरिरहेको छ ।

दिदीबहिनी तथा दाजुभाइहरू,
मेरो नेतृत्वको सरकारले पहिलो पटक डिजिटल नेपालको खाका ९म्ष्नष्तब िल्भउब िँचबmभधयचप० तयार पारी ई–गभर्नेन्सका लागि नीतिगत आधार तयार गरी कार्यान्वयनमा ल्याइसकेको म स्मरण गराउन चाहन्छु । नेपाल सरकार मन्त्रिपरिषदले स्वीकृत गरी कार्यान्वयनमा ल्याइसकेको यस डिजिटल नेपाल खाकामा कृषि, स्वास्थ्य, शिक्षा, शहरी पूर्वाधार, ऊर्जा, पर्यटन, वित्त र डिजिटल फाउन्डेसन गरी ८ प्रमुख क्षेत्रहरुको पहिचान र प्राथमिकीकरण गरी कार्यान्वयनको प्रस्ताव गरिएको छ । यसका साथै, यी ८ क्षेत्रलाई समेटने गरी नेपाललाई आर्थिक– सामाजिक प्रगतितर्फ निर्देशित गर्ने उद्देश्यका साथ ८० डिजिटल पहलहरु पहिचान गरिएको छ । डिजिटल प्रविधिको उपयोगबाट सेवा प्रवाह, उत्पादन र उत्पादकत्वमा बृद्धि गरी अर्थतन्त्रको बृहत्तर आयामको रुपान्तरण गरी आधुनिकीकरण गर्ने लक्ष्यसहित सरकारले डिजिटल नेपाल फ्रेमवर्क सार्वजनिक गरेको हो ।

 

मालपोत, विद्युत महशुल, आन्तरिक राजस्व, भन्सार महशुल, सवारी चालक अनुमतिपत्र र नवीकरणजस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका सेवालाई एकीकृत सूचना प्रणालीमा आबद्ध गराउने प्रक्रिया शुरू भइसकेको छ । सरकारले राष्ट्रिय परिचयपत्रलाई सेवा प्रवाहको मुख्य आधार बनाउने गरी कामसमेत अगाडि बढाएको छ । सूचना प्रविधिको विस्तारका लागि सबै प्रदेशमा अप्टिकल फाइवर विस्तार, प्रत्येक स्थानीय तहमा इन्टरनेटको पहुँच विस्तारजस्ता सूचना प्रविधिका आधारशीला खडा गर्ने काम पनि भइरहेको छ । डिजिटल फाउन्डेसनअन्तर्गत इन्टरनेटको पहुँच विस्तार, डिजिटल साक्षरता र सुशासनका लागि विद्युतीय सेवा उपलब्ध हुनेछ । साथसाथै, डिजिटल प्रविधिको प्रयोगका केही चुनौतिहरु पनि देखिन सक्छन् । जस्तोकि, सबैलाई डिजिटल प्रविधि प्रयोगमा अभ्यस्त बनाउने, डिजिटल नलेज विस्तार गर्ने, करको दायरामा ल्याउने र ह्याकिङलगायतका साइवर सेक्युरिटीसँग सम्बन्धित समस्याहरुमा पनि हामीले उचित ध्यान दिनुपर्ने हुन्छ ।

दिदीबहिनी तथा दाजुभाइहरू,
नेपाली अर्थतन्त्रको डिजिटाइजेसनको हालसम्मको यात्रामा निजी क्षेत्रको भूमिका प्रशंसनीय रहेको छ । पहिलो पुस्ताका सूचना प्रविधि व्यवसायीहरूले शुरू गरेका फिनटेक कम्पनीहरूले नेपालीहरूलाई मोबाइल वालेटमा अभ्यस्त बनाउँदै लगेका छन् । साथै, नेपालीहरूलाई क्यासलेस ट्रान्जेक्सन ९नगद रहित कारोबार० बारे सिकाउनुका साथै डिजिटल बैकिङतर्फ डो¥याएका छन् । कोरोना महामारीकै बीचमा नेपाली बैंक तथा वित्तीय संस्थाहरुले घरबाटै खाता खोल्न सक्ने, मोबाइलमार्फत क्वुआर कोडद्घारा चेकबिनै बैंकबाट रकम झिक्न सक्ने खालका नवीनतम डिजिटल बैंकिङ सेवाहरु प्रवाह गर्न थालेका छन् ।
हामीलाई कोभिड–१९ आउला र यस्तो भयावह अवस्थाको सिर्जना होला भन्ने कल्पनासम्म पनि भएको थिएन । तर समयलाई चिनेर डिजिटल प्रविधिको प्रयोग र विकास शुरु गरेका हुँदैंनथ्यौं भनें आज हामीले झन् कति धेरै कठिनार्ईहरूको सामना गर्नुपर्दथ्यो ? समग्रमा भन्दा अबको हाम्रो युग डिजिटल अर्थतन्त्रकै युग हो । तपाईंहरुले आयोजना गर्नुभएका यस्ता कार्यक्रमहरुले नयाँ युगको प्रविधिमा आधारित अर्थतन्त्र निर्माणमा ईंटा थप्ने काम गरेको छ । यस्ता कार्यक्रमलाई सरकारले समेत स्वामित्व लिने र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै फोनपे डिजिटल इकोनोमी कन्क्लेभको पूर्णसफलताको निम्ति शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।