२०७७ चैत्र ३० , सोमवार

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज, कसले मार्ला बाजी ?

सुनाखरी न्युजर काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज हुँदैछ । निर्वाचनकालागि तीन ठाउँ तोकिएको छ । यस अघि तोकिएका तीन स्थानमा नै मतदान गराउने महासंघको निर्वाचन समितिले निर्णय गरेको हो । निर्वाचनमा बरिष्ठ उपाध्यक्षकालागि उपाध्यक्ष द्धर चन्द्र ढकाल र किशोर प्रधानको टिम भिड्दैछ ।

कोभिड १९ र सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई द्धिष्टिगत गर्दै भिन्दा भिन्दै ठाउँमा निर्वाचनका कार्यक्रम तय गरिएको महासंघले जनाएको छ । महासंघको सचिवालयले दिएको जानकारी अनुसार महासंघको कार्यालय टेकु, कार्की व्याङकेट बबरमहल र प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचनका कार्यक्रमहरू गरिनेछ ।

शनिबार विहान ८ बजेदेखि मतदान शुरु हुने निर्वाचन समितिले जानकारी दिएको छ । सो निर्वाचन भने समूहगत रुपमा छुट्टाछुट्टै स्थान तोकिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्योग वाणिज्य समूह, कार्की व्याङकेट माइतीघरमा एशोसिएट सदस्य समूह र नेपाल उद्योग वाणिज्य महासंघको सचिवालय, टेकुमा बस्तुगत संघ समूहको मतदानको व्यवस्था मिलाइने भएको छ ।

महासंघको निर्वाचनमा कोरोना संक्रमित मतदाताहरुले पनि मतदान गर्न पाउने भएका छन् । कोभिड—१९ पोजेटिभ देखिएका मतदाताहरुले आफैले मतदान गर्नुपर्ने अवस्थामा (तीनै समूहका मतदाताहरु) त्यस्ता मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था गरिने महासंघले जनाएको छ ।

मतदाताहरु कोहि संक्रमित भए चाडै जानकारी गराउन समेत महासंघले आग्रह गरेको छ ।