२०७७ चैत्र ३० , सोमवार

पुनर्निर्माण र पुनर्स्थापनामा भएका उपलब्धिबारे काठमाण्डौमा छलफल सुरु

सुनाखरी न्युज/ काठमाडौँ – भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनामा भएका उपलब्धिबारे काठमाण्डौमा छलफल सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हासिल गरेका उपलब्धिबारे अन्तर्क्रिया तथा अभिलेख गर्न वेबमा आधारित सेमिनार (वेबिनार) आयोजना गरिएको हो ।

 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार गर्न लागेको आफ्ना संस्थागत पत्र (कम्पेण्डियम) को तयारीको सिलसिलामा तयार गरिएको प्रारम्भिक खाकाबारे छलफल गर्न र मुख्य सरोकारवाला, विज्ञ तथा अभ्यासकर्ताहरुबाट सुझाव तथा टिप्पणीहरु प्राप्त गर्न कार्यक्रमको आयोजना गरिएको हो । वेबिनारको पहिलो दिन आज निजी आवास, सांस्कृतिक सम्पदा र सार्वजनिक भवन तथा पूर्वाधार गरी तीनवटा विषयगत अध्यायमा प्रस्तुतीकरण र छलफल हुँदैछ । भोलि दोस्रो दिन बाँकी तीनवटा विषयगत अध्यायहरुमा छलफल हुनेछ । प्राधिकरणले संस्थागत स्मृति स्थापित गर्ने सिलसिलामा पुनर्निर्माणका पाँच वर्षका अनुभव तथा सिकाइहरु समेटेर विभिन्न सात वटा विषयगत क्षेत्रमा कम्पेण्डियम तयार गरिरहेको छ ।

 

यी विषयगत अध्यायहरुलाई वृहत छलफल तथा परामर्शबाट टुङ्ग्याउने उद्देश्यसहित छलफल आयोजना गरिएको प्राधिकरण कार्यकारी समिति सदस्य एवं प्रस्तावित अन्तर्राष्ट्रिय सम्मेलनका संयोजक डाक्टर चन्द्रबहादुर श्रेठले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न विषयगत अध्यायहरु तयार गर्न प्राधिकरणका अधिकारीहरु एवं विज्ञहरु संलग्न रहेका कार्यसमूहहरु गठन गरिएको थियो । प्राधिकरणले निजी आवास पुनर्निर्माण, सार्वजनिक भवन तथा पूर्वाधार, सांस्कृतिक सम्पदा, जीविकोपार्जन तथा आर्थिक विकास, उद्दार तथा राहत र सुशासन एवं संस्थागत प्रवन्ध गरी छ वटा विषयगत क्षेत्रमा संस्थागत पत्र तयार गरिरहेको छ ।

 

थप एउटा पत्र प्राधिकरणको लगानीबाट आर्थिक, सामाजिक प्रभाव अध्ययन गरिन लागेकाले अध्ययन गर्ने ढाँचाको सम्बन्धमा प्रस्तुतीकरण गरी सुझाव संकलन गरिनेछ । वेबिनारमा विभिन्न विकास साझेदार संस्थाका अधिकारी एवं प्रतिनिधिहरु, अन्तर्राष्ट्रिय विज्ञहरु, विज्ञ तथा अभ्यासकर्ताहर, नागरिक समाज तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको डाक्टर श्रेठले जानकारी दिनुभयो ।