२०७७ चैत्र ३० , सोमवार

देशभर राजतन्त्रवादीहरु सक्रिय, राजतन्त्रको अपरिहार्यता बढेको हो त ?

सुनाखरी न्युज/ काठमाडौँ।

मुलुकका मुख्य मुख्य शहरहरुमा राजतन्त्रका पक्षमा नारा जुलुस भइरहेका छन्। देशको राजधानी काठमाडौं, प्रमुख पर्यटकीय शहर पोखरा, लुम्बिनी प्रदेशको ठूलो शहर बुटवल, सुदुरपश्चिमको राजधानी धनगढीमा हालैमात्र राजतन्त्रका पक्षमा सडकमा मान्छेहरु देखिएका छन्।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य कोरोना महामारीको अवस्थामा सरकार आफ्नो कतव्र्यबाट विमुख हुनु र प्रतिपक्षले पनि आफ्नो कतव्र्य विर्सिनुले नै नजताले विकल्पको खोजि गरेको बताउँछन्। चौतर्फी कोरोना कहर, सरकारमा बस्नेहरुको गैह्र जिम्मेवार हर्कत छ, प्रतिपक्षीको कुनै पनि भूमिका नदेखिएकाले जनतामा निराशा छाएको आचार्यको विश्लेषण छ।

सरकार असफल भएको हो, नेपाली जनता निराश भएका हुन्। कम्युनिष्ट पार्टीले पार्टी एकीकरणपछि दिनुपर्ने जुन स्थिरता थियो त्यो दिएन। आफ्नै घरभित्रको झगडामा व्यस्त भयो, प्रतिपक्ष पनि आन्तरिक कलहमै रह्यो कुनै खबरदारी गरेन, सरकारमा बस्नेहरु अत्यन्तै विवेकशून्य भएपछि, त्यो असर सडकमा देखिन थालेको हो

जनताले, जनताका लागि ल्याएको गणतन्त्रको १४ वर्ष पूरा भएको छ। २०६२-६३ को जनआन्दोलनपछि देशमा लामो समयदेखि रहेको शाहवंशीय राजसंस्थाको अन्त्य भएको थियो। आन्दोलनले तत्कालीन राजा ज्ञानेन्द्र शाहले राजगद्दी त्यागेर जनता सरह रहन बाध्य गराएको थियो। राजाले गद्दी त्याग गरे पश्चात अन्तरिम संबिधान २०६३ जारी गरियो। अन्तरिम संबिधानको जगमा स्थापित पहिलो जननिर्वाचित संविधानसभाले बिना उपलब्धी स्वतः विघटन भयो।

विभिन्न आरोह अवरोधपछि अन्ततः २०७२ मा नेपालको संविधान लागू भयो। नयाँ सरकार बन्यो । आज पनि त्यही सरकारले जनतालाई केन्द्र मानेर काम गरिरहेको छ।
राजगद्दीको परित्याग गर्दा हँसिलो देखिएका ज्ञानेन्द्र शाहले पछिल्लो समय आफूसँग भएको सम्झौता राजनीतिक दलहरुले कार्यान्वयन नगरेको गुनासो गर्दै आएका छन्।