२०७७ माघ १२ , सोमवार

हाम्रो टिमको जित सुनिश्चित छ: अञ्जन श्रेष्ठ

अञ्जन श्रेष्ठ/ नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्षका उम्मेदवार-

अञ्जन श्रेष्ठ लक्ष्मी समूहका कार्यकारी निर्देशक हुन् । नेपाल उद्योग वाणिज्य महासंघमा विगत १५ वर्षदेखि सक्रिय श्रेष्ठ सुरुमा राजस्व समिति सदस्यका रूपमा महासंघ प्रवेश गरेका थिए । त्यसपछि विभिन्न समितिमा रहेर काम गर्दै आएका श्रेष्ठ हाल उद्योग समितिका सभापति हुन् । नेपालमा चकलेट, डेरी, प्लास्टिक, अटोमोबाइल तथा स्टिललगायतका व्यावसायिक क्षेत्रमा सक्रिय रहेका युुवा उद्यमी श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुुगततर्फका उपाध्यक्षका उम्मेदवार हुन् । उनै श्रेष्ठसँग गरेको कुराकानी:

यहाँको समूहका एजेन्डा केके हुन् ?
महासंघ सामूहिक निर्णयबाट चल्ने संस्था हो । हाम्रो समूहले बोकेको नाराभन्दा फरक समस्यासँग जुध्न नपर्ने भन्नेचाहिँ हुँदैन । अहिले हामीले सामना गरिरहेको कोभिड जस्तो महामारी कल्पना गरेका थियौं र रु यसले मानव जीवनदेखि अर्थतन्त्रको जरा नै हल्लाएको छ । समय–समयमा आउने यस्ता महाविपत्तिसँग जुध्न नयाँ तयारी सुरु गर्नुुपर्ने अवस्था आएको छ । यस्ता किसिमका समस्यासँग जुध्न हामी तयार रहनुपर्छ । त्यसका लागि हाम्रो टिमले प्रस्ट खाकासहित काम गर्नेछ ।
अर्को विषय अध्यक्षमा शेखर गोल्छाज्यू आउनुहुनेछ । उहाँले महासंघमा तीन वर्ष गर्ने कामको प्रस्ट प्लान तयार गर्नुभएको छ । मुख्यतः अर्थतन्त्रमा औद्योगिक क्षेत्रको हिस्सा बढाउन, नेपालमा भएका सम्भावनालाई अन्तर्राष्ट्रिय लगानीकर्ताकहाँ पु(याउन, नेपाली व्यवसायीको मनोबल उच्च बनाउन उहाँको प्लानअनुसार हाम्रो टिम लाग्नेछ । त्यसमा सबै सरोकारवालाहरू ९सरकार, समाज, निजी क्षेत्र, कर्मचारी संयन्त्र० सँग सहकार्य गर्दै अगाडि बढ्ने योजना बुनेका छौं । मंसिर १४ गतेपछि त्यसको सम्पूर्ण खाका सार्वजनिक गर्ने शेखर गोल्छाले बताइसक्नुभएको छ । उहाँको योजनालाई पूरा गर्न सबै वस्तुगतका साथीहरूको आवाज लिएर हाम्रो टिम खट्नेछ ।

महासंघमा वस्तुगततर्फबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । यहाँको जित सुनिश्चित गर्ने आधारके हुन् ?
महासंघलाई मैले १५ वर्ष दिएको छु । नेपालमा भएका राजनीतिक–सामाजिक परिवर्तनले बोकेको समृद्धिको लक्ष्य प्राप्त गर्न, औद्योगिक वातावरणमा आएको ह्रासलाई सुधार गर्न र निजी क्षेत्रप्रतिको सामाजिक दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्छ भनेर नै म चेम्बर आन्दोलनमा सहभागी भएको थिएँ । मैले तीन वर्षअघि नै वस्तुगततर्फको उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेको थिएँ । विगतमा अन्तिम समयमा अग्रजहरूको सल्लाहमा छाडेको हुँ । यसपटक मलाई सबै अग्रजहरूको साथ छ । यसबीचमा मैले वस्तुगतका धेरै साथीसँग नियमित सम्पर्कमा रहेर काम गरेको छु । उहाँहरूको समस्या समाधानमा सक्ने सहयोग गर्दै आएको छु । मेरो लक्ष्य सामूहिक नेतृत्वको हो, जसमा सबै वस्तुगत संघहरूलाई कुनै सहमति र सहकार्यमा बाँधिएर भूमिका प्रदान गरेर काम गर्नेछु । अर्को, हाम्रो समूह सन्तुलित छ । महासंघमा लामो अनुभव भएका साथीहरू हाम्रो समूहमा हुनुहुन्छ भने नयाँ साथीहरू पनि मिलाएर ल्याएका छौं । हाम्रो समूहको सामूहिक प्रयासले हाम्रो टिमको जित सुनिश्चित छ ।

तपाईं सहभागी भएको समूहको बलियो पक्ष केके हो ?
हेर्नुहोस्, महासंघले मंसिर १४ गतेबाट अध्यक्षका रूपमा शेखर गोल्छालाई पाइसकेको छ । उहाँले नै छनोट गरेको टिमबाट हाम्रो टिम निर्माण भएको हो । हामीले निर्वाचनमा बनाएको ‘सुदृढीकरण र शुद्धीकरण’ को नारा निकै सान्दर्भिक छ । त्यो नारा कुनै समूह वा व्यक्ति विशेषलाई लक्षित गरेर निर्माण भएको होइन । त्यसमा विगतमा भएका कमी–कमजोरीलाई सुधार गर्दै बलियो संरचना निर्माण गर्नुपर्छ भन्ने मुख्य विषय लुकेको छ ।
अर्को महत्वपूर्ण विषय, हाम्रो समूहमा रहेका साथीहरू पनि आ–आफ्नो क्षेत्रमा निकै राम्रो दक्खल भएका हुनुहुन्छ । उहाँहरूको सहयोगले भोलिका दिनमा महासंघको वस्तुगत परिषद्लाई बलियो बनाउन महत्वपूर्ण भूमिका रहनेछ ।
मैले पनि लकडाउनका बाबजुद हरेक वस्तुगत संघहरूसँग उहाँहरूको समस्या र त्यसको समाधान कसरी गर्ने भन्ने विषयमा छलफल गरेको छु । उहाँहरूको सुझावबाट एउटा दस्तावेज नै निर्माण गरेर अगाडि बढ्ने तयारी भइरहेको छ । यसले हाम्रो सम्पूर्ण टिमलाई नै बलियो बनाएको छ ।

 

कसरी काम गर्ने योजना बनाउनुभएको छ ?
राजनीति केलाई भन्ने रु व्यावसायिक हितका लागि लड्ने संस्थालाई सत्ता राजनीतिसँग जोड्नु भएन । हाम्रो एउटै मुद्दा छ, त्यो हो– नेपालमा औद्योगिक विस्तार गर्ने । त्यसका लागि बाटो खोल्ने काम सरकारले गर्नुपर्छ । मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने हामीले हातले बनाउने मिठाइँबाट चकलेट उद्योगका रूपमा विकास गरेका छौं । जस्तैसुकै परिस्थितिमा पनि व्यवसाय गर्नुपर्छ भन्ने मान्यताबाट हामी अगाडि बढेका छौं । अहिले स्टिल उद्योग चलाएका छौं । नेपालमा गाडी ल्याएर बिक्री गर्ने कम्पनी चलाएका छौं । त्यसको सर्भिसका लागि चाहिने पूर्वाधारमा लगानी गरेका छौं । अहिले गाडी बिक्री गर्न २ सय जना कर्मचारी परिचालन गरेका छौं भने ६ सय जना सर्भिसमा कार्यरत छन् ।
यसको मतलब उद्योग भए रोजगारी बढ्ने हो । त्यसका लागि आवश्यक पूर्वाधार तयार भएकाले केही वर्षभित्र नेपालमा गाडी उत्पादन सुरु गर्ने लक्ष्यसहित काम अगाडि बढाएका छौं । त्यो उद्योग दर्ता भइसकेको छ ।
लगानी बढाउँदै लाँदा उत्पादन बढ्छ । प्रतिस्पर्धी उत्पादन बजारमा ल्याउन प्रविधिको प्रयोग जरुरी छ । त्यसका लागि हामीले मात्रै उद्योग लगाएर उत्पादन बढ्ने होइन नि । सबै साथीहरूले व्यवसायलाई एक तहमाथि उठाउनुपर्ने अवस्था छ । त्यसका लागि हामीले प्रविधि भिœयाउन सामूहिक पहल गर्नुपर्छ, त्यसका लागि राज्यले सहजीकरण गर्नुपर्छ । त्यसो हुन सकेको खण्डमा हाम्रो गुणस्तरीय उत्पादन तयार हुन्छ, जसलाई हामी विश्व बजारमा जोड्न सक्छौं ।

महासंघको कार्यसमितिमा रहेर काम गर्दै आउनुभएको छ, महासंघमा आगामी दिनमा गर्नुपर्ने काम केके हुन् ?
महासंघ विशेषतः ‘नीतिगत लबिङ’ गर्ने संस्था हो । यहाँ काम गर्दा सचिवालय चुस्त बनाउने, व्यवसायीको समस्या चौबीसै घण्टा सुन्न सक्ने प्रविधिको विकास गर्ने, उहाँहरूको समस्या लिएर सरकारीस्तरमा छलफल गरेर समाधान खोज्ने नै पहिलो र महत्वपूर्ण काम हो । कुनै पनि व्यवसायीलाई उसले व्यवसाय गर्न पाउने र सक्ने वातावरण निर्माण गर्नु मुख्य कुरा हो । व्यवसाय गर्न हाम्रो निजी क्षेत्र सधैँ तयार छ । पछिल्ला वर्षमा ठूला र मेगा प्रोजेक्टमा विदेशी लगानी आउने कुराहरू भइरहेका छन् । तर, त्यसका लागि यहाँका व्यवसायीले ढुक्क भएर लगानी गर्ने वातावरण निर्माण हुनुपर्छ ।
अहिले पनि हामी ५७ वर्ष पुराना ऐन–नियममा रहेर काम गरिरहेका छौं । यस दौरानमा धेरै राजनीतिक परिवर्तन भए । तीनवटा संविधान बने तर व्यवसायसँग जोडिएर आउने ऐन–नियम २०१९२० सालकै छन् । व्यवसाय गरेर नाफा कनाउनु अपराध मान्ने अवस्था अहिले पनि छ । यसलाई चिर्न हामीले धेरै काम गर्नुपर्नेछ । सरकारले भनेको कृषि, पर्यटन, पूर्वाधार, जलस्रोतजस्ता क्षेत्रमा ढुक्कसँग लगानी गर्न अझै धेरै अप्ठ्यारा छन् । यसलाई सहजीकरण गर्नुपर्नेछ ।
अझै नेपालले विश्व बजारमा आफ्नो आर्थिक हैसियत देखाउन सकेको छैन । त्यस्तो हैसियतबिना उत्पादन बढ्न सक्दैन । त्यसका लागि हाम्रा वस्तुगत संघहरूको क्षमता वृद्धि गर्नुपर्नेछ । उनीहरूलाई लगानी सुरक्षित रहेको अनुभूति गराउन सक्नुपर्छ । त्यसका लागि हाम्रो टिमले सक्दो काम गर्नेछ ।