२०७७ चैत्र ३० , सोमवार

कोरोनाविरुद्धको खोप आए पनि वितरणमा विभेद हुनसक्ने डब्लुएचओको चिन्ता

सुनाखरी न्युज/

काठमाडौं – अमेरिकालगायतका विभिन्न मुलुकले कोरोनाविरुद्धका खोपहरु परीक्षण गरिरहेका बेला यसको वितरणमा हुने विभेदलाई लिएर चिन्ता हुन थालेको छ । सबैभन्दा प्रभावित समुदाय र गरिब व्यक्तिमा यो खोपको सर्वसुलभता र पँहुच पुर्‍याउन चुनौती रहेको सरोकारवालाहरुले औंल्याएका छन् । विश्व स्वास्थ्य संगठन डब्लुएचओ का प्रमुख डा टेङेडस अधानोम गेब्रेयसियसले खोपको समान रुपमा वितरण हुनुपर्ने बताएका हुन् ।

 

उनले संसारभर प्रभावित रहेका नागरिकलाई सहज रुपमा कोरोनाविरुद्धको खोप पुर्‍याउन करोडौं डलरको साझा कोषको आवश्यकता रहेको बताएका छन् । उनले विभिन्न खोपको सफल जारी रहेकाले उक्त खोप वितरणका लागि अहिले नै तयारीमा जुट्न आवश्यक रहेका बताएका हुन् । अमेरिकाको अक्सफोर्ड विश्वविद्यालले परीक्षण गरीरहेका विभिन्न खोपहरुको प्रभावकारीता बढी रहेको यसअघि नै सार्वजनिक भइसकेको छ । ती खोपहरुले ९० प्रतिशतसम्म प्रभावकारीता देखाएको अनुसन्धानमा संलग्न अधिकारीहरुले जनाएका छन् । डब्ल्एचओका प्रमुख डा टेड्रोसले भ्याक्सीनको परीक्षणले ल्याउन सकारात्मक नतिजाको प्रतीक्षामा आफू रहेको बताएका छन् । यसअघि कुनै पनि खोपहरु छोटो समयमा विकसित नभएको भन्दै उनले कोरोनाविरुद्धको खोपको प्रभावकारीताका बारेमा अझै अनुसन्धान जारी रहेको बताए ।

 

डब्लुएचओले यसअघि देखि नै कोरोना महमामारीविरुद्धको लडाइ सामुहिक रुपमा हुनुपर्ने बताउँदै आएको छ । उसले धनी र शक्तिशाली राष्ट्रहरुले गरिब र पीडित नागरिकहरुको उपचारका लागि प्रथमिकता दिनुपर्नेमा जोड दिँदै आएको छ । पछिल्लो तथ्यांकअनुसार भारत, युरोपियन युनियन, अमेरिका, क्यानडा र बेलायतले कोरोनाविरुद्धको खोपान बढी चासो देखाएका छन् । यता डब्लुएचओले कोरोना खोपको समान रुपमा वितरण हुनुपर्ने बताउँदै आएको छ । सन् २०२१ को अन्त्यसम्ममा विश्वभर उक्त खोप वितरण थाल्ने डब्लुएचओले जनाएको छ ।

एजेन्सी