२०७७ चैत्र ३१ , मंगलबार

मनकामना केवलकार २३औं वर्षमा प्रवेश

सुनाखरी न्युज/ काठमाडौं – नेपालको पहिलो मनकामना केवलकार २३औं वर्षमा प्रवेश गरेको छ। २२ वर्षको अवधिमा डेढ करोडले केवलकारको यात्रा गरेको कम्पनीका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले बताए। ‘हामी २३औं वर्षमा प्रवेश गरेका छौं।

 

कोभिडका कारण झण्डै सात महिनादेखि केवलकार बन्द छ,’ उनले भने, ‘सुरक्षाका सबै मापदण्डसहित केवलकार खोल्ने तयारीमा छौं।’ स्ट्याण्डर्ड अपरेसन प्रोसिड्योर अनुसार निर्देशिका पालना कार्यान्वयनमा ल्याउने गरि स्थानीय तह र उद्योगी व्यवसायीसँग छलफल गरिरहेको श्रेष्ठले जानकारी दिए। ‘स्थानीयको सुरक्षाका लागि समेत हामीले केवलकार खोलेनौं। तर स्थानीय उद्योगी व्यवसायी पनि केवलकार खोल्न आतुर रहेको पाएका छौं,’ श्रेष्ठले भने, ‘स्थानीय तहको स्वीकृतिमा केवलकार केही दिनभित्रै खुल्नेछ।’

 

उनका अनुसार कोभिडपछि केवलकारको टिकट अनलाइनमार्फत खरिद गर्न सकिने सेवा पनि ल्याइएको छ। इ-सेवा मार्फत टिकट बुकिङ गर्दा यात्रुले फोनमै टिकट प्राप्त गर्न सक्नेछन् भने फोनपे मार्फत टिकट काउन्टरबाट टिकट लिन सक्नेछन्। सुगम देखि दुर्गम क्षेत्रसम्म इ-पे को पहुँच पुगिसकेको छ। नगद रहित कारोबार, यात्रु सेवा सहजता सँगै भिडभाड कम हुने कुरालाई मध्यनजर गर्दै हामीले यो व्यवस्था लागू गरेका हौं, उनले भने।

 

कम्पनीले यात्रु तथा आफ्नो जनशक्तिको स्वास्थ्य सुरक्षाका लागि मुल ढोकादेखि नै हेल्थ स्क्रिनिङ को तयारी गर्नुका साथै प्रत्येक घण्टा डिसइन्फेक्ट गर्ने उनले बताए। उनका अनुसार कम्पनीले कुरिनटार स्टेसन र मन्दिर क्षेत्रमा रहेको स्टेसनमा आइसोलेसन वार्ड समेत तयार गरेको छ। यात्रु र सेवामा सहभागी कर्मचारीलाई फेस सिल्ड, मास्क, स्यानिटाइजेसनको व्यवस्था गर्ने जनाएको छ। कम्पनीका अनुसार स्यानिटाइजेसन, ह्याण्ड वास, डिसइन्फेक्सन मेसिन, शरीरको तापक्रम मापन, मास्क, फेस सिल्ड र फ्रन्ट लाइन वर्करलाई पीपीई लगायतको स्वास्थ्य सुरक्षाको प्रबन्ध गरिसकेको छ।