२०७७ मंसिर २१ , आइतवार

उपरकोटी दाजुभाईद्वारा आफ्नो आमाको स्मृतिमा अक्षयकोष स्थापना

Capture

मिलन ढकाल/ गोरखा (ताकुकोट) – संघीय सरकार माननीय बन तथा वातवरण मन्त्री शक्तीबहादुर बस्नेतको सचिवालय सदस्य धिरज उपरकोटी र उनको दाजु जितबहादुर उपरकोटीले आफ्नो दिवङ्गत आमा सन्सरी नेपालीको स्मृतिमा अक्षय कोषको स्थापना गरेका छन् ।

 

शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बारपाक सुलिकोट गाउँपालिका पार्टी कमिटीले स्वर्गीय नेपालीको सातौ दिनको पुन्य तिथिमा आयोजित श्रद्धाञ्जली सभामा उपरकोटी दाजुभाईबाट उक्त अक्षय कोष स्थापनाको घोषणा गरेको हो । बिपन्न तथा दलित बिद्यार्थीहरुको पौष्टिक आहार तथा स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यले यो बर्ष ३०,०००/- राखेर अक्षय कोष शुरुवात गरेको र आगामी बर्षहरुमा कोषमा रकम थप्दै जाने जितबहादुर उपरकोटीले जानकारी दिए ।

कार्यक्रममा नेकपाका गण्डकी प्रदेश सदस्य एवं बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भट्ट, उपाध्यक्ष सनमाया गुरुङ, नेकपा गण्डकी प्रदेश सदस्य लोकप्रसाद बन्जरा, दलित नेता गोपाल बराइली, नेकपा बारपाक सुलिकोट अध्यक्ष नरबहादुर गुरुङ, भिमसेन थापा गाउँपालिका अध्यक्ष बिनोद पाण्डे, वडा नं ६ र ७ का वडा अध्यक्ष एवं सदस्यहरु, पार्टीको नेता-कार्यकर्ता तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो । उपस्थीत नेता, जनप्रतिनिधि तथा शुभचिन्तकहरुले दिवङ्गत सन्सरी नेपालीको फोटोमा माल्यापर्ण गरि श्रद्धाञ्जली अर्पण गरेका थिए । स्वर्गीय नेपालीको गत कार्तिक २९ गते शनिबार आफ्नै निवास बारपाक सुलिकोट-७, ताकुकोटमा क्यान्सरको कारण निधन भएको थियो ।