२०७७ मंसिर २१ , आइतवार

उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि सकियो छठ

chhath-puja-dna

सुनाखरी न्युज/ काठमाडौं ।

पूर्वबाट उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि चारदिने छठ पर्व सकिएको छ । शुक्रबार साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका ब्रतालुहरुले आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएका हुन् । यससँगै सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईमधेसवासीको महान चाड छठको उल्लास सकिएको छ ।

कोरोना महामारीका कारण विगतको वर्षहरुमा भन्दा केही फरक ढंगले छठ मनाइएको छ । वीरगञ्जका छठघाटहरु विशेष किसिमले सजाइएका छैनन् । विशेष नियम र निष्ठासाथ मनाइने छठ पर्वका लागि नदी, पोखरी तथा जलाशयहरु सिँगारेर झकिझकाउ पार्ने गरिएको थियो ।

वीरगञ्जको घडिअर्वा पोखरी, स्वीमीङ पुल, नगवा पोखरी, मुर्ली, छपकैया, रामगढवा, तेजारथ टोल, चिनी मिल आवासक्षेत्र, पिपरा, परवानीपुर, सुखचैना लगायत ग्रामीणक्षेत्रका पोखरी तलाउहरुमा छठको विशेष आकर्षण देखिने गरेको थियो । यस वर्ष अधिकांश छठघाट सजाइएको छैन ।

छठघाटमै गएर शिरसोप्ताको पूजा, छठी मैयाको आराधना र सूर्यको उपासना गर्ने कतिपयले यसवर्ष घरको छत र आँगनमै पर्व मनाएका छन् । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै स्थानीय प्रशासन र स्थानीय सरकारले छठघाटमा भिडभाड नगर्न आग्रह गरेको थियो । विशेषगरी सहर बजारका धेरै ब्रतालुहरुले घरको छतमै कृत्रिम पोखरी बनाएर पूजा अर्चना गरेका छन् ।

नदी, खोला र पोखरीस्थित छठघाटमा ब्रतालुहरु र दर्शनार्थीहरुको भिड विगतको वर्षमा भन्दा कम देखिएको छ । मास्क अनिवार्य भनिए पनि छठघाटमा मास्क नलगाउनेहरुको संख्या पनि बाक्लो छ । छठघाटमा मास्क निःशुल्क वितरण गरिएको भएपनि अधिकांशले मास्क नलगाएको पाइएको छ ।

कात्तिक शुक्लपक्षमा चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरुले खोला, नाला, नदी, पोखरी र तलाउ लगायतका जलाशयमा नुहाइधुवाइ गरेर शुद्ध भई लसुन र प्याज बेगरको चोखो साकाहारी खाना एक छाक खाने गर्छन् । जसलाई स्थानीय भाषामा ‘नहाय खाए’ भन्ने गरिन्छ । छठको दोश्रो दिन अर्थात कात्तिक पञ्चमी तिथिको दिन व्रतालुहरु दिनभरि निर्जला व्रत बस्छन् र साँझपख नुहाएर चोखो भई आफ्नो कुल देवताको पूजा कोठामा नयाँ चुल्हो बनाएर त्यसैमा चामल र भेलीको खीर, रसीआव तथा गहुँको रोटी प्रसादका रुपमा पकाइन्छ ।

कात्तिक शुक्ल षष्ठी र सप्तमीका दिन सूर्यलाई विशेष विधिपूर्वक अर्घ दिएर छठ पर्व मनाइन्छ । ‘सँझिया घाटे’ भनिने षष्ठीको दिनलाई छठको मुख्य दिन मानिन्छ । छठ पर्व विशेष गरी नेपालको मध्य र पूर्वी तराईमा मनाईने गरिएको भएपनि पछिल्लो समयमा काठमाडौं, हेटौंडा, चितवन लगायतका केही पहाडी र भित्रि मधेशका जिल्लामा समेत उल्लासका साथ मनाउने गरिन्छ ।

छठपूजामा सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्य दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ । यस्तै पातसहितको मुला, अदुवा र बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानीसिंगडा, सुथनी, उखु लगायतका फलफूल पनि चढाउने गरिन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइनुको साथै सन्तान सुख प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रही आएको छ ।

 

चैतमा पनि छठ पर्व मनाइन्छ । कतिपयले भाकल पूरा भएपछि छठको व्रत बस्ने गरेका छन् भने कतिपयले मनोकांक्षा पूरा होस् भनेर छठी माता र सूर्यको आराधना गर्दछन् ।

प्रकृतिको छैठौं वंशले उत्पन्न भएकी ब्रम्हाकी मानसी पुत्रीलाई षष्ठीदेवी भनेर चिनिन्छ । स्वामी कार्तिकेयको श्रीमती नै छठी माता भएको सँस्कृतिविदहरु बताउँछन् । बालदा षष्ठी अर्थात बालक दिने र बालककको पूरा हेरचाह गर्ने भनेर छठीमाता चिनिन्छ । छठमा सुर्यको उपासनासँगै उनै देवीको पूजा गरिन्छ ।