२०७७ मंसिर १२ , शुक्रवार

मास्क नलगाउनेलाई दुई हजार जरिवाना

thumb

एजेन्सी/ नयाँदिल्ली —

भारतको दिल्ली राज्यमा मास्क लगाउन अनिवार्य गरिएको छ । नयाँ दिल्लीमा कोभिड १९ को महामारी फैलिदै गएपछि सरकारले सतर्कता बढाउने क्रममा जरिवाना पनि बढाएको हो ।

दिल्लीका मुख्यमन्त्री अरविन्द्र केजरीवालले मास्क नलगाई बाहिर हिँड्नेलाई दुई हजार रुपैयाँ जरिवाना गराइने बताएका छन् । मास्क लगाउन पटकपटक आग्रह गर्दा पनि धेरैले बेवास्ता गरेपछि जरिवाना शुल्क बढाउन लागिएको हो । प्रदेश सरकारले यसअघि ५ सय रुपैयाँ मात्रै जरिवाना तोकेको थियो ।

‘दिल्लीमा पछिल्लो समयमा कोभिड १९ संक्रमितहरुको संख्यामा वृद्धि हुँदै गएको छ, तर अहिलेसम्म पनि कतिपयले सार्वजनिक स्थलमा मास्क लगाएका छैनन्,’ केजरीवालले भने । केजरीवालले सकभर भीडभाड नगर्न तथा आधारभूत स्वास्थ्य सतर्कता अपनाउन समेत सर्वसाधारणलाई आग्रह गरेका छन् । धार्मिक, सांस्कृतिक, राजनीतिक तथा अन्य कुनै कार्यक्रम तथा गतिविधिहरु नगर्न पनि उनले आग्रह गरेका छन् ।