२०७७ मंसिर २१ , आइतवार

पुस्तकको तिरोधान (भाग ३)

Dinesh Pandey@

दिनेश पाण्डेय-

साथी पुका अन्तिम वर्ण लेऊ
हिल्याउनेमा लख एक देऊ ।
तालव्य आधा जससाथ चुच्चो
भाँची चरीको गर फेरि बुच्चो ।।५१।।
(उपजाति १)

यण्भित्रको वर्ण समेट तेस्रो
तुको अझै अन्तिमबाट तेस्रो ।
लखा उसैको शिरमा लगाऊ
चुच्चो निमोठेर चरी थमाऊ ।।५२।।

कमालजीको सुरुसाथ भाइ
टिपी सफा ओखरआदि लाऊ ।
सालादिका पात लिई गँसाई
आकारसाथै थलिया सजाऊ ।।५३।।

खापा थिए बन्द र बन्द तालक
कुरेर बस्थे बलवान् निवारक ।
तेस्रो कसैमा जब छैन कुञ्जिका
भने भए के बहुमूल्य पुस्तिका ।।५४।।

(उपजाति २)

कानमा राख कोदाली खाँबे लौरो छ साथमा ।
खरायो साथमा खुट्टा काटेर डाङ्गडुङ्गमा ।।५५।।
शोभिता शिक्षिका शान्ता राख्छिन् कर्पूर कानमा ।
त्यत्रा पुस्तक खै होलान् खुसुक्क भनिद्यौ ममा ।।५६।।

भकारी कानमा राखी चरीचुच्चो निमोठ्तछिन् ।
कानले निहुरीमुन्टी खरायोसँग रम्दछिन् ।।५७।।
डाङ्गडुङ्ग गरी बस्छिन् खुट्टा काटी अझै पनि ।
कर्पूर कानमा राख्ने भन्नुहोस् अब को यिनी ।।५८।।
कैयौँबाजी भनेँ मैले घाउ यो मनभित्रको ।
ताला लगाइराखेको किताब झिक्न सक्छ को ।।५९।।

उखुका आदिका साथ मूर्धन्य कान कस्तछिन् ।
पाटीमा कान राखेर डेढ धर्का समाउँछिन् ।।६०।।
डाङ्गडुङ्गबिसे यौटा लखमा मस्त छिन् यिनी ।
गोरी र सुन्दरी राम्री अग्ली छिन् बान्किली पनि ।।६१।।
अनुमान गरे गोरी यो भो आश्चर्य के यहाँ ।
ताला लगाइराखेका जान्छन् पुस्तक ती कहाँ ।।६२।।

दन्तका साथमा गाई गोडामा पाउपोस छ ।
बस्तछिन् निहुरी मुन्टी पाटीमा लखकान छ ।।६३।।
खरायो साथ खामे छ लखले हात भाँचियो ।
न रमा न उमा गौरी गोरी छिन् सुन्दरी अहो ।।६४।।
हे गोरी भन यो के भो जे होला अनुमानमा ।
ताला लगाइराखेका जान्छन् पुस्तक रे कहाँ ।।६५।।

बुढो मोटो उसै माथि लखकानो रमाउँछ ।
दैलीमा कान लाएर पाटी लौरी समाउँछ ।।६६।।
काटेर एउटा धर्को बाँकी धर्का लिईकन ।
डाङ्गडुङ्गबिसे यौटा लख राख्तै बसीकन ।।६७।।
बोल्दिनौ किन हो के भो भन आश्चर्य भो यहाँ ।
दराज बन्दताला छ जान्छन् पुस्तक रे कहाँ ।।६८।।

डाडुको डाडु मात्रै छ बुढोमा लखकान छ ।
कोदाली वाम पाखामा चुल्ठोसाथ विराज छ ।।६९।।
बाइमात्रा छ खाँबामा डाडुमा कान दाइयो ।
हात भाँची सधैँ बस्ने गोरीको गान गाइयो ।।७०।।
हे गोरी भन यो के भो क्यै भए अनुमानमा ।
दराज बन्द उस्तै छ किताब भाग्दछन् कहाँ ।।७१।।

चरी चुच्चो निमोठेर वाममात्रा थमाउँदै ।
डाडु सिङ्गै बुढा सिङ्गै राम्रामा हल लाउँदै।।७२।।
जलतुम्बी उफारेर डाडुमाथि रमाउँदै ।
मुन्टिन्छन् निहुरी साथी सदा जागिर धाउँदै ।।७३।।
भन सुसाङ्ख्यका वेत्ता आई खुसुक्क कानमा ।
तालाबन्द भएका ती भागे पुस्तक रे कहाँ ।।७४।।

कर्पूरसँगमा आधा गोरुका सिङ छन् बडा ।
चरी यी निहुरी बस्ने राम्री छिन् कान छन् खडा ।।७५।।
भाँचिएको लुलो हात लहुरोमा अड्याउँछिन् ।
देब्रे चुल्ठो फिँजाएर घरैमा नित्य बस्तछिन् ।।७६।।
राम्री छिन् वाम चुल्ठोमा खामेमा लख लाउँछिन् ।
पातली ज्यानकी च्यान्टी साना नानी पढाउँछिन् ।।७७।।
भन हे पातली नानी १ तिमीमा ज्ञान क्यै भए ।
तालाबन्द भएका ती मेरा पोथा कहाँ गए ।।७८।।

ऐनाको लख काट्तामा चुल्ठीले हात भाँचियो ।
पातली लहुरो टेकी श्रीको चुल्ठो हटाइयो ।।७९।।
त्यसैमा लख राखेर आधा पेट चिरीकन ।
मिलेकी ओठकी सानी देख्यौ वा तिमीले भन ।।८०।।

खम्बामा दाहिने चुल्ठी निहुरी लहुरी लिने ।
भिरी कपुरमा जुत्ता राम्रोमा लहुरो दिने ।।८१।।
खाँबामा दाहिने तर्फ चुल्ठी लर्काउँछिन् बडा ।
मोटो ज्यान भई हो वा लहुरोमा सदा खडा ।।८२।।
हलो जोत्छिन् कडा श्यामा तराईमूलकी परी ।
टलक्क टल्किने दाँत हाँस्छिन् मधुरता छरी ।।८३।।
आँखा चिम्म गरी सोची भन एकान्तमा बसी ।
तालाबन्द थियो भित्र लग्यो पुस्तक को पसी ।।८४।।

टुपी लामै धरी न्यूरी मुन्टिँदै मुन्टिँदै यिनी ।
टेकेर लहुरो हिँड्छिन् जुत्ता कपुरमा उनी ।।८५।।
माथमा चन्द्रमाबिन्दु बुच्चै छिन् बिचरी चरी ।
खाँबामा आड लागेर भन भो यो कसो गरी ।।८६।।

जुत्तामा पातलो चुच्चो भाँचेकी बिचरी चरी ।
लौराका भरमा हिँड्ने पातला यी कठैबरी ।।८७।।
अनर्साको छ जो आदि लिँदैछन् साथमा छडी ।
त्यै छडी आडमा राख्दै रुङ्दैछिन् बिचरी चरी ।।८८।।
तुम्बी झैँ जलको उफ्री बुढामाथि सवारक ।
ले खा ले खा जप्यौ बर्सौँ देखाऊ अब पुस्तक ।।८९।।

डाडुमा कान हालेकी निहुरी पाउपोसमा ।
कपूरको छडीसाथै दाँतमा लख चन्द्रमा ।।९०।।
श्वानपुच्छरमा लौरो ईश्वरादि थपीकन ।
तिमीलाई छ वा ज्ञान छन्‌ किताप कहाँ भन ।।९१।।

पाटीको सुरुको आधा खाँबासाथ विराज छ ।
दैलीको दाहिने चुल्ठो पाटीकै साथ राज छ ।।९२।।
सदण्ड दन्तका पारि पाटीसँगै कपूर छ ।
सजिँदै लखकानोले ओठकाटी सदण्ड छ ।।९३।।
मुसुक्क हाँस्तछन् मित्र अतीव प्रेम राख्तछन् ।
भन लौ बन्द ती ग्रन्थ के गरी भाग्न सक्तछन् ।।९४

न लेखी वामकोल्टामा चुल्ठो ढल्काउँछिन् यिनी ।
उडेर रेफ गो भुर्र राम्री पवर्गकी धनी ।।९५।।
भाँचेर हात लौराका सहारा खोज्दछिन् कहाँ ।
लख चुल्ठो थमाएर कमलादि र दन्तमा ।।९६।।
दुवैमा आङ्लभाषाका विराम पूर्ण छन् अहा ।
निर्माया भनिद्यौ साँच्चै मेरा पुस्तक छन् कहाँ ।।९७।।

राम्री थिइन् कुनै बेला ऐले त लहुरो लिई ।
हिँड्दछिन् वामचुल्ठाले हलो जोतेर यी दिदी ।।९८।।
भाँचिएछ कठै हात चुल्ठो केले सिँगार्दछिन् ।
घुम्रे जुत्ता छ गाईमा देब्रे फर्केर बस्तछिन् ।।९९।।
खम्बाका ढाडमा फुर्की गेडा मास पकाउँछिन् ।
घन्टी ठोकेर जा जा जा जा जा भन्दै फकाउँछिन् ।।१००।।
आफ्नो ‌तलब बढ्दैन भन्दै यी गन्गनाउँछिन् ।
मेरा पुस्तक खै भन्दा उल्टै पो फत्फताउँछिन् ।।१०१।।

अनार झैँ मिलेका छन् दन्तपङ्क्ति मनोहर ।
निहुरी मुन्टिँदै राख्छिन् कोठा स्वच्छ र सुन्दर ।।१०२।।
तामेली गर्दछिन् आफ्ना थाप्लामा काम छन् जति ।
कानमा कपुरी हाली माथमा रेफको गति ।।१०३।।
किन हो लेखनी बोकी दायाँ चुल्ठी सजाउँछिन् ।
मेरा पुस्तक खै भन्दा भुतुक्कै भै लजाउँछिन् ।।१०४।।

राजा जनककी छोरी कौशल्यापुत्रसाथमा ।
पाटी दोलखकानामा बोकी डमरु हातमा ।।१०५।।
लख एक सँगै बस्छन् लसुनादि झिकी अनि ।
ठोकी द्वारबिसे ताला कुर्दैछन् यी अझै पनि ।।१०६।।
सीताराम जपी बस्छन् स्कुलका द्वारपालक ।
दराज बन्दतालाको भित्रै गायब पुस्तक ।।१०७।।

भरसक कविता यो लेख्न इच्छा थिएन
बुधजनकन ठोसूँ यो इरादा थिएन ।
तर पनि मन दुख्दा मागियो यो निसाफ
भन न अब त साथी ! खै कहाँ छन् किताब ।।१०८।।
(मालिनी)

अब त अति भयो के पार्दछौ मित्र ! फन्दा
किन यति निठुरी हौ के हुने हो र भन्दा ।
कबुल बरु छ केही मित्र हो दिन्छु थाप
भन न अब त साथी ! खै कहाँ छन् किताप ।।१०९।।
क्रमशः अर्को शनिवार