२०७७ मंसिर १३ , शनिवार

दुई लाख बेरोजगारलाई रोजगारी दिन सरकारले निकासा गर्‍यो ३ अर्ब रुपैयाँ (सूचीसहित)

pm-rojgar-karyakram

सुनाखरी न्युज/ काठमाडौ – सरकारले देशभरका युवा बेरोजगारको सूचीमा सूचीकृत भएकामध्ये दुई लाख नागरिकलाई रोजगारीका लागि रकम निकासा गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत सरकारले ५६९ पालिकालाई तीन अर्ब रुपैयाँ अनुदानका रूपमा ससर्त पठाएको हो । सरकारले बजेटमा घोषणा गरे अनुसार दुई लाख रोजगारी सिर्जना गर्न हालसम्म छ अर्ब ८९ करोड रुपियाँ स्थानीय तहमा पठाइसकेको छ ।

 

कार्यक्रमले पालिकामा आएका बेरोजगारका आवेदन छनोट गरेर प्राथमिकताका आधारमा मङ्सिर १५ भित्र रोजगार सेवा केन्द्रमा उपलब्ध गराउन आग्रह गरेको छ । तोकिएको समयभित्र आवेदन नपठाउने पालिकामा यो वर्षको रोजगार कार्यक्रमका लागि छुट्याइएको बजेट पठाउन नसकिने रोजगार कार्यक्रम सचिवालयले उल्लेख गरेको छ । जुन जुनपालिकाबाट मङ्सिर १५ भित्र आवेदन आउँछ, ती सूचीकृत गर्ने र बजेट पठाउने त्योभन्दा पछि पठाउने पालिकामा बजेट पठाउन नसकिने कार्यक्रमले स्पष्ट पारेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमले दिएको जानकारी अनुसार चालू आर्थिक वर्षमा रोजगार कार्यक्रमका लागि सरकारले ११ अर्ब ६० करोड रुपियाँ बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्षमा सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ६० हजारलाई न्यूनतम एक सय दिनको रोजगारी दिएको थियो र त्यसका लागि पाँच अर्ब एक करोड रुपियाँ बजेट खर्चिएको थियो ।

 

कार्यक्रममा देशभरबाट छ लाख ८१ हजार युवा बेरोजगारको सूचीमा सूचीकृत भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार यो तथ्यांक असोजदेखि मङ्सिर ४ सम्म प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध हुनका लागि बेरोजगार युवाले आवेदन दिएको हो । यसमा आउँदो १५ गतेसम्म अझै बढी बेरोजगारको संख्या बढ्न सक्ने छ । श्रम मन्त्रालयले उक्त कार्यक्रममार्फत चालू आर्थिक वर्ष २०७७÷७८ मा दुई लाख विपन्न बेरोजगार युवालाई न्यूनतम एक सय दिनको रोजगारी दिने लक्ष्य लिएको छ । तर, रोजगारीका लागि आवेदन दिने बेरोजगारको संख्या भने अत्यधिक छ । कोरोना महामारीका कारण वैदेशिक रोजगारी तथा देशभित्रै पनि हजारौँको संख्यामा नेपाली श्रमिकले रोजगारी गुमाएका कारण बेरोजगारको संख्या बढ्दै गएको छ ।

 

श्रम मन्त्रालयले स्थानीय तहमा खटिएका रोजगार संयोजकबाट संकलन गरेको तथ्यांक अनुसार यो संख्या बेरोजगार युवाले रोजगारीका लागि आवेदन दिएका आधारमा सूचीकृत गरेको जनाएको छ। मन्त्रालयले स्थानीय विकास मन्त्रालयमार्फत ७५३ वटा स्थानीय तहलाई पत्राचार गर्दै बेरोजगार युवालाई आ–आफ्नो पालिकामा गत भदौ ७ सम्म आवेदन दिने समय तोकेको थियो। पालिकामा आएका बेरोजगारका आवेदन छनोट गरी रोजगार संयोजकसमक्ष पठाएपछि संयोजकले बेरोजगारीको सूचीमा सूचीकृत गर्छन । योे संख्या बेरोजगारको सूचीकृतको सूची हो।

रकम पठाइएका पालिकाको सूची :

प्र.म.रो.का.को-सशर्त-अनुदान-रकम-निकासा-सम्बन्धमा-