२०७७ मंसिर २१ , आइतवार

‘फल्स चेम्बर’ बनाएर पेट्रोल चोरी, एक महिनामा आठ हजार लिटर चोरीको आशंका

Capture

सुनाखरी न्युज/ काठमाडौँ — इन्धन ढुवानी गर्ने ट्यांकर चालकले नयाँ जुक्ति निकालेर पेट्रोल चोरी गरिरहेको फेला परेको छ । इन्डियन आयल कर्पोरेसनको बरौनी रिफाइनरीबाट पेट्रोल आयात गरिरहेका ना७ख ३६९६ र ना७ख २९९५ का ट्यांकरमा फल्स चेम्बर (पार्टिसन) बनाई पेट्रोल चोरी गरेको भेटिएको हो ।

एक महिनायता चालकका गतिविधि शंकास्पद देखिएको नेपाल आयल निगमको वाग्मती प्रादेशिक कार्यालय थानकोट डिपो प्रमुख प्रदीप यादवले बताए ।

दुई ट्यांकर शंकाको घेरामा परेपछि बिहीबार नै केन्द्रीय कार्यालयबाट निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल, गुणस्तर तथा नापतौल विभागका महानिर्देशक बिश्वबाबु पुडासैनीसहितका प्राविधिक कर्मचारी ट्यांकरको परीक्षण गर्न थानकोट पुगेका थिए । सोही क्रममा दुवै ट्यांकरमा पार्टिसन गरेको भेटिएको थियो ।

सामान्यतया ट्यांकरमा २० हजार लिटर इन्धन अट्ने विभागका महानिर्देशक पुडासैनीले बताए । त्यसमा चार हजार लिटरका दरले पाँच वटा चेम्बर हुन्छन् । ‘ना७ख ३६९६ र ना७ख २९९५ मा तेस्रो नम्बरको चेम्बरमा दुई भाग लगाइएको छ । एकतिरको भागमा करिब १ हजार लिटर इन्धन अट्ने देखिन्छ ।

एउटै ट्यांकरमा अनुमानित नौ सयदेखि एक हजार लिटरको फल्स चेम्बर पाइएको उनले जानकारी दिए ।