२०७७ मंसिर २१ , आइतवार

विजय कुमार पान्डेको सम्वन्धहरु नामको पुस्तक पढेपछि डा.प्रकाशचन्द्र लोहनीको टिप्पणी

dr lolani

डा.प्रकाशचन्द्र लोहनी – तिहारको बिदामा नयाँ पुस्तक पढ्न मन लाग्यो । त्यसकारण दराज भन्ने अनलाइनमा गएर विजय कुमारको ‘सम्बन्धहरू’ भन्ने पुस्तक अर्डर गरेँ । दुई दिनभित्र घरमा आइपुग्ने सूचना पाएँ । विश्वास लागेको थिएन, तर दराजले वचन पूरा गर्‍यो । ठीक दुई दिनपछि घरमा पुस्तक आइपुग्यो । दराजलाई धन्यवाद !

 

मैले विजय कुमारलाई प्रतिभाशाली पत्रकार मित्रका रूपमा चिनेको धेरै वर्ष भयो । ०४६ सालको जनआन्दोलनको समयमा युवा विजय कुमारले लिएका राजनीतिक अन्तर्वार्ता अहिले पनि सम्झनामा छन् । विभिन्न पार्टीमा उनीसँग भेट हुन्थ्यो । तिनताका फटफटे स्वभावका विजय राम्रै पियक्कड भएको र खुट्टा पनि राम्ररी टेक्न नसक्ने स्थितिमा भोजभतेर समारोहमा देख्ने गरेको थिएँ । पिउनेसँग मेरो कुनै उजुरी छैन । विद्यार्थी जीवनमा म पनि छुट्टीका दिनमा सानोतिनो पियक्कड नै थिएँ । तर, राजनीतिमा लागेपछि बिगत ४० वर्षदेखि सोमरससँग मेरो डिभोर्स भयो र फेरि प्रेम पलाउने सम्भावना पनि छैन । तर, विजयजस्तो प्रतिभावान् पत्रकार किन यस्तो पियक्कड भएको होला जस्तो लाग्थ्यो । के राम्रो पत्रकार हुन पिउनैपर्छ र भन्ने प्रश्न मनमा नउठेको पनि होइन । तर, समय सधैँ परिवर्तनशील हुन्छ । सिर्जनात्मक लेखनमा लागेका हालका विजय मैले पहिले देखेको विजयभन्दा अर्कै भइसकेका रहेछन् । सम्बन्धहरूका लेखक विजय जिन्दगी र जिउने कलाबारे बौद्ध दर्शन र चिन्तनका गम्भीर साधकका रूपमा रूपान्तरित हुने प्रयासमा बढिसकेछन् ।

 

‘सम्बन्धहरू’ पढ्न थालेपछि म दुई–तीन घन्टामै पूरा गर्ने सुरमा थिएँ । तर, केही पाना पढेपछि लाग्यो, यो पुस्तक समय लिएरै पढ्नुपर्छ । त्यसैले यो पुस्तक बिस्तारै तीन दिन लगाएर पढेँ । कुनै पेज पनि छोडिनँ । पुस्तकमा आफ्ना अनुभव, अनुभूति, व्यथा, पीडा, सफलता, असफलता र बाँच्नु र मर्नुको यथार्थबारे चर्चा गर्न विजयले केही चरित्र पेस गरेका छन् । उनीहरूसितको वार्तालाई आफ्नो मात्र नभएर मानवको जन्म–मरणबीचको चेतनाको धागोका रूपमा रहेका जिन्दगीमा कसरी सुखी भएर बाँच्नेबारे आफ्नो कल्पना र तर्कनासँग त्यसलाई गाँसेका छन् । उनले अनेक तर्कना गरेका छन्, तर मेरो विचार नै ठीक हो पनि भनेका छैनन् । गीत गाउने कलाकारले गीत गाए जस्तै उनले आफ्नो चिन्तन संवादबाटै पेस गरेका छन् । मन पराउनुस् या नपराउनुस्, यो तपाईंको जिम्मा । यसमा उनलाई चिन्ता छैन । राजनीतिमा जति ठूलो पाखण्डी भयो, उति ठूलो मान्छे । यसक्रममा कसैको पाखण्डीपन धेरै बाक्लो हुन्छ भने कसैको पातलो । तर, पाखण्डीपनको नकाब रहन्छ । प्रजातन्त्रमा अटुट विश्वास गर्ने, तर बुथ कब्जा गर्न पछि नपर्ने ! कोभिड–१९ को औषधि खरिद गर्दा भएको भ्रष्टाचारमा आँखा चिम्लिने, तर भ्रष्टाचार उन्मूलनको भाषण गर्ने ।

 

१८ परिच्छेदमा रहेको पुस्तकमा विजयले नतालिय, योगिनी, सुम्निमा, आकाशजस्ता थुप्रै विभिन्न व्यक्तित्वसँग स्त्री–पुरुष सम्बन्ध, पाखण्डीपनको नकाब, अहंकारको विश्लेषण, सन्तानप्रतिको दृष्टिकोण, प्याजको अन्तिम पत्र र मृत्युको गुह्यजस्ता थुप्रै विषयमा आफूले खडा गरेका पात्रसँगको संवादबाट आफ्नो दृष्टिकोण राखेका छन् । उनले भोगेका पीडा र उनले खोतल्न खोजेका प्रश्न उनीसँग मात्र सीमित छैनन् । पुस्तक पढ्ने सबैले त्यहाँ आफ्नो कुनै न कुनै चासो देख्नुहुनेछ, आफ्नो अनुहार देख्नुहुनेछ र भाग्यले साथ दिए सायद आफूले आफैँलाई प्रश्न पनि गर्नुहुनेछ । सुखको खोजी कसलाई हुँदैन र ? तर, हामीलाई बुद्धले धेरै पहिले भनिसकेका छन्– घृणाको उपस्थिति, प्रेमको अभाव, रिस, ईष्र्या, डर, चिन्ता र निराशाजस्ता कुराको प्रभाव तथा जन्म, बुढ्यौली, बिमारी र मृत्युजस्ता यथार्थको भुमरीमा हामी दुःखी हुन्छौँ । यो दुःखको कारण मोह हो र मोह अज्ञानताबाट आउँछ । अज्ञानताको कारण यो संसारको क्षणिकता र अनित्यतालाई स्वीकार गर्न नसक्नु हो । जुन चिज क्षणिक छ, त्यो सदा निरन्तर रहन्छ भन्ने हामीभित्रको आशाले परिवर्तनको रूप देख्दैन, बुझ्दैन र अन्ततः पीडा र दुःखमा पुग्छ ।

बुद्धले यो दुःखबाट मुक्ति पाउने बाटो पनि देखाए र आफूले देखाएको बाटोमा गएर, अनुभव गरेर मात्र यो भनाइको औचित्य बुझिने उद्घोष गरे । त्यसैले एकथरीको भनाइ छ– यो विश्वमा अरू सबै धर्म नरहे पनि बुद्ध चिन्तन रहनेछ, किनभने यो आधुनिक वैज्ञानिक पद्धतिले देखाएको प्रक्रियामा आधारित छ । विजयको चिन्तन बुद्ध चिन्तनबाट प्रभावित छ । सुख खोज्न अरूलाई भन्दा पहिले आफूलाई नै खोतल्नु जरुरी छ । यो साधनाको कठिनाइबारे विजयले ठाउँ–ठाउँमा सचेत गराएका छन् । यो प्रक्रिया निरन्तर जारी रहन्छ, सायद मृत्युसम्म । कुरुक्षेत्रको युद्धमा जीवन संघर्षमा हेलिनुपर्छ भन्दै कृष्णले अर्जुनलाई भनेका छन्– मानिसमा इन्द्रियहरू छन्, त्यसपछि मन छ । मनमाथि बुद्धि छ र अनि आत्मा । अधिकांश मानिस यी इन्द्रियद्वारा बोको डोरिएजस्तै डोरिएरै जान्छन्, तर यस्तो हुनुपर्दैन । मनले पनि इन्द्रिय डोर्‍याउन सक्छ । त्यस बखत मालिक मन हुन्छ, तर मनमा विवेक राखे काम बुद्धिले गर्छ । अर्थात्, सुख खोज्न इन्द्रियलाई प्रधान मान्ने कि मनलाई ? मनलाई मान्ने हो भने त्यसलाई निर्देशित गर्ने बुद्धि बुद्ध चेतनाको अभिन्न अंग हुन आउँछ ।
आफूले आफैँलाई हेर्ने र मन खोतल्ने काममा विजयले आफ्नो लेखनमा योगिनीसँगको संवादलाई भरपूर उपयोग गरेका छन् । योगिनी नेपाली आमा र जर्मन बाबुकी छोरी हुन् ।

 

उनीसँगको छलफलमा पाखण्डीपनको चर्चा हुन्छ । आजको वैश्य युगमा चप्पल कारखाना चलाउनु र मिडिया चलाउनु एउटै हो भन्ने उद्घोषका साथ विजय नेपालमा सबभन्दा ठूलो समस्या पाखण्डीपन रहेको निचोडमा पुग्दछन् । र, यसको मूल जिम्मेवार राजनीतिक र बौद्धिक वर्गलाई औल्याउँछन् । साँच्ची नै मन, वचन र कर्मले एकै लयमा काम गर्ने मानिस संसारमा बिरलै होलान् । अझ राजनीतिमा त मैले बारम्बार सुनेको छु– बुझ्नुस् डाक्टर साहेब, राजनीतिमा जे पनि चल्छ । यसको अर्थ राजनीतिमा जति ठूलो पाखण्डी भयो, उति ठूलो मान्छे । यसक्रममा कसैको पाखण्डीपन धेरै बाक्लो हुन्छ भने कसैको पातलो । तर, पाखण्डीपनको नकाब रहन्छ । प्रजातन्त्रमा अटुट विश्वास गर्ने, तर बुथ कब्जा गर्न पछि नपर्ने ! कोभिड–१९ को औषधि खरिद गर्दा भएको भ्रष्टाचारमा आँखा चिम्लिने, तर भ्रष्टाचार उन्मूलनको भाषण गर्ने । यसलाई पाखण्डीपनको नयाँ उचाइभन्दा अरू के भन्न मिल्छ र ?

 

एक ठाउँमा विजयले लेखेका छन– लेफ्टिस्ट थिंकिङ र राइटिस्ट लिभिङ । यो हाम्रो यथार्थ हो । तर, यो पनि यथार्थ हो कि धेरै–थोरै प्रायः सबै पाखण्डी नै हुँदारहेछन् । त्यस्तै, इन्द्रियको दास भएको मन ठूलो पाखण्डी, मनले इन्द्रिय डोर्‍याएको कम पाखण्डी, विवेक र बुद्धिले डोर्‍याएको मन अझ कम पाखण्डी । को–कति पाखण्डी छ भनेर अरूलाई हेर्नु भन्दा पहिले आफूले आफैँलाई खोतल्नुपर्ने रहेछ । यो खोतल्ने काम सजिलो हुँदैन र यसैका लागि बुद्धले ध्यानको बाटो देखाएका छन् । सायद यो बाटोबाट आफूमा रहेको पाखण्डीपनको नकाब कति बाक्लो या पातलो छ भन्ने ठम्याउन सकिएला ।धेरै–थोरै प्रायः सबै पाखण्डी नै हुँदारहेछन् । को–कति पाखण्डी छ भनेर अरूलाई हेर्नुभन्दा पहिले आफूले आफैँलाई खोतल्नुपर्ने रहेछ । यो खोतल्ने काम सजिलो हुँदैन र यसैका लागि बुद्धले ध्यानको बाटो देखाएका छन् । सायद यो बाटोबाट आफूमा रहेको पाखण्डीपनको नकाब कति बाक्लो या पातलो छ भन्ने ठम्याउन सकिएला ।

 

विजयको संवाद पात्र योगिनीको भनाइमा आफ्नो पाखण्डीपनको नकाब उतार्नु भनेको आफ्नो वास्तविक आइडी देख्नु हो । पाखण्डी नकाब नै लिएर हिँड्नु भनेको फेक आइडी बोकेर हिँड्नु हो । फेक आइडी डिलिट गरेपछि वास्तविक आइडी फेला पर्छ । कुरो सजिलो छ, तर जुन चिज सजिलो छ, त्यो असाधारण पनि छ । त्यसैले हामीमध्ये धेरै पक्का फेक आइडी र दरो पाखण्डीपन लिएर हिँड्छौँ । आफ्नो पाखण्डीपनलाई जतन गरेर राख्छौँ । राष्ट्रका लागि काम गर्दा आँखै नझिम्क्याई अर्बौं घुस खानेहरू आफ्नो फेक आइडी झन् बलियो बनाउँछन् । यो प्रपञ्च रोक्ने र यसलाई नंग्याउन सक्ने प्रावधान नभए फेक आइडीले समाज ध्वस्त गर्छ । यो एक किसिमले नेपालको मात्र नभएर अमेरिकामा अहिले देखिँदै गरेको नाटक पनि यही हो । जनताको नाममा भिरेको पाखण्डीपनको फेक आइडी उतार्न त्यहाँको सिस्टमलाई हाहाकार परेको छ । नेपालको त चर्चा नै नगरौँ । यहाँ फेक आइडी नै राजनीति भएको छ । कहाँ लगेर देशलाई चकनाचुर पार्ने हुन्, थाहा छैन ।

 

पाखण्डीपनमा निहित दम्भ र अहंकारको चर्चा गर्दै एक ठाउँमा विजय लेख्छन्– दिनको दुई छाक मासुभात चाहिने, तर पशुवध रोकौँ भन्ने प्लेकार्ड बोक्नुको के अर्थ ? अथवा, बेलुका टन्न रक्सी खाने अनि बिहान छोरालाई रक्सी नखाऊ भनी दिएको उपदेशको के अर्थ ? अझ भ्रष्टाचारको ठूलो विरोध गर्ने, तर भ्रष्टाचारलाई शासनको बल देख्नेबाट कुनै सकारात्मक आशा गर्न सकिन्छ र ? शासकमा पाखण्डीपन बढेर जाने र यो नकाब उतार्न नखोज्ने समाज हुँदा अशान्ति खोज्न धेरै पर जानुपर्ने छैन । अन्ततोगत्वा मान्छे मात्रमा भर परेर पार पाइँदैन, बलियो जग भए घर बलियो हुन्छ । त्यस्तै, बलियो जग भएको संस्था निर्माण नगर्ने हो भने देश बन्दैन । जुन नेताले संस्था बलियो बनाउँछ, त्यो आफू पनि बाँधिएला, तर त्यसले देशको जग बलियो बनाउँछ र अन्ततः त्यसले देश बनाउँछ ।

 

सन्तानबारे विजयको चिन्तनले हाम्रो समाजमा नयाँ ढोका खोल्ने प्रयास गरेको छ । के हामीले हाम्रा सन्तानलाई साँच्चिकै चराको सानो बच्चालाई झैँ हुर्काउँछौँ ? जो समय आएपछि संसारमा उड्नेछ भन्ने जान्दाजान्दै पनि प्रेमले ओतप्रोत भएर हुर्कन्छ । के आफ्ना सन्तानलाई विनाप्रतिफलको आशामा हामीले हुर्कायौँ ? यो प्रश्न हरेक बाबु–आमाको हैसियतले हामीले कति खोतलेका छौँ ? अनि मृत्युबारे के सोच्ने ? के हामी मृत्युबारे सोच्छौँ ? तर, अनित्यताको अनुभूति नै जीवनको पूर्णताको बाटो हुँदोरहेछ । किनभने, हिजो गइसक्यो, भोलिको ठेगान छैन । हाम्रो सम्पत्ति यही वर्तमानमै हुँदोरहेछ । यो कुरो नबुझे हामीले समय बिताउने होइन, समयले हामीलाई बिताइदिन्छ । समय त जहाँ छ त्यहीँ छ, बित्ने त हामी नै हो । त्यसैले विजयको तर्कनाअनुसार आफ्नो जाने वेलासम्म आगो हुन नसके पनि आफूभित्र आगो निभ्न नदिनुलाई पनि त उपलब्धि नै मान्नुपर्छ ।

 

विजयको ‘सम्बन्धहरू’ नामक पुस्तकले जिन्दगी किन बाँच्ने ? कसरी बाँच्ने ? बारे धेरै प्रश्न उठाएको छ । नेपालमा हाम्रा ठूला नेताले यो पढ्लान् जस्तो लाग्दैन । किनभने, उहाँहरूलाई सबै थाहा छ । पढे पनि उनीहरूको पाखण्डीपनले यसलाई उपेक्षा गर्नेछ । तर, देशका युवा, बौद्धिक वर्गका लागि यो पुस्तक पढ्नैपर्ने सुन्दर उपहार हो ।

 

लेखक लोहनी पुर्व अर्थ तथा परराष्ट्रमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष हुन ।