२०७७ मंसिर २१ , आइतवार

राजधानीबाट निकै कम दुरीमा रहेको पर्यटकीय गन्तब्य: रुबिभ्याली

Capture

डेभिड घले – पर्यटकीय आकर्षणको केन्द्र बन्दै रुबी भ्याली। रुवीभ्याली उत्तरी धादिङको एउटा गाउँपालिकाको नाम हो । बहुमुल्य रुवि ढुङ्गा पाइने स्थान भएकाले साविकको लापा, सेर्तुङ र तिप्लिङ गाविसलाई समेटेर ‘रुवीभ्याली’ नाम राखेर गाउँपालिका बनाइएको हो । रुवीभ्यालीको सवैभन्दा आकर्षक ठाउँ हो ‘पाङसाङ पास’ । समुद्री सतहदेखि ३ हजार ८ सय ५० मिटर उचाइमा रहेको यो पाङसाङ पासबाट मनोरम हिमश्रृंखलाहरु, सुन्दर पहाडी प्राकृतिकछटाहरु अवलोकन गर्न सकिन्छ।

 

१ वर्ष अघिसम्म यहाँ मोटरवाटो पुगेको थिएन । अहिले नुवाकोट, बेत्रावती, मैलुङ, स्याफ्रुवेशी, सोमदाङ गणेश हिमालको फेदीहुँदै पाङसाङ पाससम्म सडकमार्गमार्फत पुग्न सकिन्छ । पाङसाङ पास ब्यस्त शहरी भीडभाडबाट मन शान्त पार्नको लागि ुवान नाइट स्टेु गर्नको लागि एकदमै उपयुक्त र रमणीय ठाउँ हो । सोमदाङमा सानो हिमाली बजार पनि रहेकाले पाङसाङ पास जानेले त्यहाँबाट सवैखाले खानेकुराहरु किनेर लैजान सकिन्छ । यहीबाट गणेश हिमालको फेदीमा रहेको जस्ता खानी जाने बाटो छुट्टिन्छ । पृथ्वी राजमार्गको गल्छी बजारबाट करिव एक सय किलोमिटर बेत्रावतीसम्म पक्की, त्यसपछि कच्ची सडक यात्रा गरेपछि पाङसाङ पास पुग्न सकिन्छ । रसुवाको सदरमुकाम धुन्चे भएर जान्छु भन्नेहरुको लागि २५–३० किलोमिटर दुरी बढी पर्न जान्छ ।

 

अहिले त्यहाँ धेरै होमस्टेहरु नभएकाले बस्न खानको लागि केही समस्या हुन सक्छ तर आफ्नो लागि आवश्यक पर्ने लजिस्टिक सामानहरु टेन्ट९स्लिपिङ० ब्याग लिएर जाँदा धेरै राम्रो हुन्छ । मंसिर १५–२० बाट पाङसाङ पास वरपर हिउँ पर्न थाल्छ । पाङसाङ घुम्नको लागि सवैभन्दा उपयुक्त समय भनेको चैत बैशाख महिनामा हो । यस बेला पाङसाङ क्षेत्रमा विभिन्न प्रजातिका फुलहरु र भेडीगोठको सुगन्ध पनि थपिन्छ । हिउँमा हिड्न मन हुनेहरुको लागि माघको अन्तिमतिर जाँदा उपयुक्त हुन्छ । पौष माघमा निरन्तर हिउँ परिरहने हुनाले अलि समस्या हुन सक्छ । पाङसाङ पासबाट करिव २ देखि ३ घण्टाको पैदल यात्रापछि अर्को भ्युटावर पुग्न सकिन्छ जहाँबाट लाङटाङ लिरुङ अन्नपूर्ण, मनास्लु हिमाल, गणेश हिमालजस्ता हिमालहरुको मनोरम दृश्य देख्न सकिन्छ । धादिङवेशीबाट पनि एक दिन गाडीमा र अर्को दिन पैदल यात्रा गरेर पाङसाङ पास पुग्न सकिन्छ । पाङसाङ पास हुँदै झरेपछि रुवीभ्याली गाउँपालिकाको गाउँबस्तीहरुमा पुगिन्छ । जहाँ उत्तरी धादिङको ग्रामिण जीवनशैली, तामाङ सँस्कृति र परम्परा अवलोकन गर्न सकिन्छ ।

 

यहाँका प्रायजसो गाउँ बस्ती एकदमै बाक्लो रहेको छ । हरेक गाउँहरुमा १ सय देखि ६ सय ५० वटासम्म घरहरु रहेका छन् । हरेक गाउँहरुमा भर्खरै होमस्टेहरु सचालनमा आउन थालेका छन् । लापा, तिप्लिङ, सेर्तुङ, बोराङजस्ता गाउँहरु धेरै घरधुरी रहेको गाउँहरु हुन् । रुवीभ्यालीको बस्ती बस्तीमा घुम्न चाहनेहरुले ७ देखि ८ दिनको प्याकेज बनाएर पदैल यात्रा गर्दा धेरै उत्तम हुन्छ ।