२०७७ मंसिर २१ , आइतवार

बीमा दावी तीन अर्ब नाघ्यो, हालसम्म २३२० जनाको कारोना बीमा दावी भुक्तानी

Beema

सुनाखरी न्युज/ काठमाडौं ।

कोरोना बीमाको दुई हजार ३२० जनाले कोरोना बीमाको दावी भुक्तानी पाएका छन् । कोरोना बीमाको दावी भुक्तानी तीव्र पार्न बीमा समितिले स्पष्ट निर्देशन दिएसँगै दावी भुक्तानीको गति तीव्र भएको भएपनि गत गत कार्तिक २३ गते आइतबारसम्मको तथ्याङ्क अनुसार दावी भुक्तानी पाएका छन् ।

बीमा पुलमार्फत प्राप्त तथ्याङ्क अनुसार एक अर्ब ३८ करोड एक लाख रुपैयाँ कोरोना बीमाको दावी भुक्तानी गर्न बक्यौता रहेको रेकर्डमै देखिएको छ । साथै राष्ट्रिय बीमा कम्पनीमा थुप्रिएको सरकारी कर्मचारी तथा सुरक्षाकर्मीको समेत जोड्दा कूल दावी भुक्तानी हुन बाँकी रकम तीन अर्ब नाघेको छ । राष्ट्रिय बीमा कम्पनीमा मात्रै करिब डेढ अर्बभन्दा बढि दावी परेको छ । यद्यपि सम्पूर्ण कागजात प्राप्त नभएकोले रेडर्कमा नजनाइएको सो कम्पनीको भनाई छ ।

सबैभन्दा धेरै बक्यौता राष्ट्रिय बीमा कम्पनीको छ । बीमा पुलमा प्राप्त विवरण अनुसार सबैभन्दा धेरै दावी भुक्तानी शिखर इन्स्योरेन्सले गरेको छ । शिखरले हालसम्म करोड ८० लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । त्यस्तै, अजोड इन्स्योरेन्स कम्पनीले एक करोड ३२ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । सिद्धार्थ, युनाईटेड, एनएलजी, प्रिमियर, नेपाल इन्स्योरेन्स लगायतका कम्पनीहरुले एक एक करोड रुपैयाँ दावी भुक्तानी गरेका छन् ।

कोरोना बीमा पोलिसी नेपाल बीमक संघको नेतृत्वमा सबैले सामूहिक रुपमा बीमा शुल्क र जोखिम बाँडफाँड गर्ने शर्तमा बीमा पुलमार्फत सञ्चालित बीमा योजना भएकोले कम्पनीगत रुपमा रहेको दावी भुक्तानीको विवरण छुट्टाछुट्टै भएपनि हिसाब किताब भने एकमुष्ट हुनेछ ।

दुई साता अघि बीमा समितिले कोरोना बीमाको दावी भुक्तानी एक साताभित्र सम्पन्न गर्न प्रक्रिया समेत छोट्याएर सरल बनाएर निर्देशन दिएपछि दावी भुक्तानी प्रक्रियाले केही गति लिएको भएपनि अझै तीन अर्बभन्दा बढि दावी भुक्तानी बाँकी छ ।