२०७८ बैशाख ८ , बुधवार

चिलिमे हाइड्रोपावरको नाफा २२ करोड ३२ लाख

सुनाखरी न्युज/ काठमाडौँ – चिलिमे हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आवको यसै अवधिमा २१ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

चुक्ता पूँजी ५ अर्ब ७० करोड ९७ लाख ६३ हजार रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १५.६४ रुपैयाँ छ । गत आवको यसै अवधिको तुलनामा २.७५ रुपैयाँले इपिएस घटेको हो । यस्तै जगेडा कोषमा ४ अर्ब ५२ करोड रुपैयाँ र प्रतिशेयर नेटवर्थ १७९.२५ रुपैयाँ छ । असोज मसान्तसम्म कम्पनीले बिजुली बेचेर ३६ करोड ३९ लाख रुपैयाँ कमाएको छ । गत आवको यसै अवधिमा बिजुली बेचर ३५ करोड १० लाख रुपैयाँ आम्दानी गरेकोमा ३.६८ ले आम्दानी बढेपछि कम्पनीको नाफा बढ्न पुगेको हो ।

 

नेपाल विद्युत प्राधिकरणले आवश्यकता अनुसार अधिक विद्युत उर्जा खरिद गर्ने र गत वर्षको तुलनामा अधिक विद्युत खरिद भएकोले विद्युत बिक्रीबाट हुने आम्दानी बढेको कम्पनीले जनाएको छ।