२०७८ बैशाख ८ , बुधवार

भैगो डि भी भर्दिनँ

यो कस्तो सपना म देख्न नसकी झस्केर रोएँ हरि
सारा मानिस दङ्ग देश नभनी भर्छन् डिभी लोटरी ।
आफ्नै देश छ दिव्य यो भुवनमा डेरा कतै सर्दिनँ
हे प्यारी जति नै ढिपी गर तिमी भैगो डिभी भर्दिनँ ।(१)

 

चिल्ला मोटरकार छन् सफरमा चिल्लै छ बाटो पनि
उड्ने छैन धुलो प्रदूषित धुवाँ देखिन्न माटो भनी ।
सारा कष्ट भुलेर जीवन फुलोस् विश्वास भो गर्दिनँ
मेरै राष्ट्र निमित्त मर्दछु सखी भैगो डिभी भर्दिनँ ।(२)

 

होस् तिर्थै न अमेरिका अवनिमा अस्ट्रेलिया होस् नता
प्यारो देश भुली कुद्यो मनुजता देखेर छक्कै मता ।
नङ्ग्रा घोट्छु यहीँ म छर्छु पसिना छोडेर जाऊँ किन
भोकै मर्नु परोस् विदेशतिरको भैगो डिभी भर्दिनँ ।(३)

 

जो जो बाहिर छन् विदेश घरमा फर्केर आऊन् सब
नेपाली हुनुमा खुला हृदयले मानून् बडो गौरव ।
काला रातसँगै अवस्य जगमा होलान् उज्याला दिन
आफ्नै देश हुनेछ स्वर्गसरिको भैगो डिभी भर्दिनँ ।(४)

 

हाम्रो उद्यमशीलता लगन यो देखेर छक्कै परून्
जे चाहिन्छ डिभी पिआर जनले नेपाल सम्झी भरून् ।
खाँदा साग मिठो छ गुन्द्रुक ढिँडो भोकै त भो मर्दिनँ
पिज्जा बर्गरको परी लहडमा भैगो डिभी भर्दिनँ ।(५)

-उत्तम विचार
छन्द : शार्दूलविक्रीडित ।