२०७८ बैशाख ३ , शुक्रवार

नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

सुनाखरी न्युज/ काठमाडौं – नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । शाक्यलाई ऊर्जा मन्त्रालयले सोमबार निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । ऊर्जा मन्त्रालयले शाक्यलाई अहिले निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरे पनि केही समय पछि भने उनलाई कार्यकारी निर्देशक बनाउने तयारी गरेको छ ।

 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि प्राधिरकणमा कार्यकारी निर्देशक पद खाली छ । घिसिङको कार्यकाल सकिएपछि ऊर्जा मन्त्रालयले निमित्त कार्यकारी निर्देशकको जिम्मा लेखनाथ कोइरालालाई दिएको थियो । मन्त्रालयले शाक्यलाई कार्यकारी निर्देशक बनाउने उद्देश्य अनुसार नै प्राधिरकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो । शाक्यलाई एनईए इन्जिनियरिङ कम्पनी बाट प्राधिकरणमा तानेर सो पदको जिम्मा लगाइएको हो । शाक्यले नेतृत्व गरिरहेको एनईए इन्जिनियरिङ कम्पनीको सहायक कम्पनी हो । परामर्श एवम् इन्जिनियरिङ सेवामा विदेशिने रकम जोगाउन भन्दै २०७३ मा स्थापित कम्पनीको प्रवन्ध निर्देशकका रुपमा काम गर्न कुलमान घिसिङले नै शाक्यलाई पठाएका थिए ।

 

कुलमानको कार्यकाल सकिएपछि नेपाल विद्युत प्राधिकरण भदौ २९ देखि नेतृत्व विहीन छ । ऊर्जा मन्त्री वर्षमान पुनले कुलमानलाई प्राधिकरणमा पुन ल्याउनु पर्ने आवाज उठदै आएको थियो । तर प्रधानमन्त्री ओलीले कुलमानलाई निरन्तरता दिन नसकिने प्रतिक्रिया दिएपछि शाक्यको पहल भएको हो । कुलमानलाई पुन नियुक्ति गर्ने विषयमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि ओलीलाई दवाव दिएका थिए । तर, प्रधानमन्त्री ओलीले प्रचण्डका कुरा सुन्न तयार देखिएका थिएनन्  ।