२०७८ बैशाख ३ , शुक्रवार

न्याय परिषदमा बार प्रतिनिधी निर्वाचनवाट छानियो, बहुमत जुटाउने बालुवाटारको प्रयासमा भने धक्का

सुनाखरी न्युज/ काठमाडौं ।

न्याय परिषद सदस्यका लागि सिफारिस गर्ने नाम  नेपाल बार एशोसिएसनले शनिबार मतदानबाट टुंगो लगाएको छ । बार कमिटीले बहुमतको निर्णयका आधारमा बरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ ।

यसले न्यायपरिषदमा कार्यपालिकाको प्रभाव विस्तारका लागि आफूले चाहेको सदस्य पठाएर बहुमत जुटाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास असफल भएको छ ।

न्याय परिषद् सदस्यमा कसलाई पठाउने भन्नेमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच विवाद थियो । कानून व्यवसायीहरुको छाता संगठन बारमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  कै बर्चश्व छ ।

ओली समूहले न्याय परिषद सदस्यका लागि अधिवक्ता महेश नेपालको नाम अघि सारेको थियो भने प्रचण्ड(नेपाल समूहले श्रेष्ठलाई पठाउन चाहेको थियो । नाममा सहमति नजुटेपछि शनिबार बारले आकांक्षीहरुबीच मतदान नै गराउने निर्णय गर्‍यो ।

र, शनिबार बसेको बारको बैठकमा मतदान हुँदा सबै आकांक्षीलाई मत दिन पाइने भनिएको थियो । तर श्रेष्ठ र नेपालले मात्र मत पाए । श्रेष्ठले १३ मत पाउँदा नेपालले १० मत पाए । तीन मतको फरकमा रामप्रसाद श्रेष्ठ छानिए ।