२०७७ चैत्र ३० , सोमवार

नेकपाका बहुमत सचिवालय सदस्यद्वारा बैठकको लागि प्रधानमन्त्रीसँग लिखित आग्रह

सुनाखरी न्युज/काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाका पाँच जना सचिवालय सदस्यले तत्कालै सचिवालय बैठकको लागि प्रधानमन्त्रीसँग लिखित माग गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा भएको अनौपचारिक बैठकको निर्णय अनुसार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष वामदेव गौतमले वालुवाटारमै पुगेर बैठक बोलाउन लिखित आग्रह गरेका हुन् ।

 

सरकारका कामको समिक्षा, कोरोना महामारी नियन्त्रण, स्थायी कमिटिको बैठकले गरेका निर्णय कार्यान्वयनको अवस्था लगायतका विषयमा छलफलको लागि सचिवालयको बैठकको लागि प्रधानमन्त्रीलाई लिखित रुपमै माग गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । आफूहरुको लिखित आग्रह बुझे पनि प्रधानमन्त्री ओलीले सचिवालय बैठकको बारेमा कुनै निर्णय नदिएको पनि प्रवक्ता श्रेष्ठले बताउनुभएको छ ।