२०७८ बैशाख ८ , बुधवार

प्रचण्डले बोलाए पार्टी मुख्यालय धुम्बाराहीमा सचिवालय बैठक

सुनाखरी न्युज/ काठमाडौँ – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको सचिवालय सदस्यहरुलाई पार्टी मुख्यालय धुम्बाराहीमा बोलाएका छन् । पछिल्लो समय अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग विवाद बढिरहेको बेलामा दाहालले सचिवालय सदस्यहरुलाई आज अपरान्ह ३ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बोलाएका हुन् ।

 

प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार अध्यक्ष दाहालले बोलाएको बैठक अनौपचारिक हो । नेकपाभित्र आन्तरिक विवाद चर्किरहेको छ । कतिपयले यो विवादले नेकपा नै फुट्ने हो कि भन्ने पनि आशंका गरिरहेका छन् । नेकपाका दोस्रो तहका नेताहरुले भने एकता जोगाउँदै अघि बढ्नुपर्ने र यसको लागि पार्टी कमिटीका बैठकहरु बोलाउनुपर्नेमा जोड दिएका छन् । हिजोको भेटमा दाहालले ओलीसमक्ष सचिवालय बैठक बोलाउन प्रस्ताव गरेका थिए । जवाफमा ओलीले आफू कुनैपनि बैठक राख्ने पक्षमा नरहेको कडा जवाफ फर्काएका थिए ।