२०७८ बैशाख ३ , शुक्रवार

अविश्‍वासको सामना गर्दै अस्थिरताका प्रयत्न चकनाचुर पारिनेछः प्रधानमन्त्री

सुनाखरी न्युज/ काठमाडौँ —

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध अविश्वासको चलखेल भइरहेको बताउँदै त्यसको सामना गर्ने बताएका छन् । कुनै पनि हालमा राजीनामा नदिने र राजीनामा दिएमा मुलुक बर्बाद हुने भनेर अभिव्यक्ति दिएको एकदिन पछि प्रधानमन्त्रीले सरकारविरुद्ध पार्टी भित्रैबाट अविश्वासका कुरा आइरहेको बताएका हुन् ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बिहीबारको बैठकमा पार्टीभित्र विभिन्न ठाउँमा चलखेल भइरहेको बताएका हुन् । एक मन्त्रीकाअनुसार बैठकको सुरुमै प्रधानमन्त्रीले पार्टीभित्र जारी विवादतर्फ संकेत गर्दै मन्त्रीहरूलाई आफ्ना धारणा सुनाएका थिए ।

सरकार ढाल्नेबारे गतिविधि भनइरहेको भन्दै प्रधानमन्त्रीले अस्थिरता हुन नदिने मन्त्रीहरूलाई बताएका थिए । प्रधानमन्त्रीले यसअघि पनि पार्टीमा विवाद उत्पन्न हुँदा मन्त्रीहरूलाई आफ्नो कित्तामा बस्ने कि पार्टीमा आफ्नो विपक्षमा उभिएका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा उभिने हो भनेका थिए । साउन महिनामा चलेको विवादका बेला उनले मन्त्रीहरूलाई कित्ता छुट्याउन भनेका थिए । यसपटक भने आफ्ना कुरा मात्रै राखेको तर कित्ता छुट्याउन नभनेको अर्का एक मन्त्रीले बताए ।

 

पार्टीभित्र विवाद चर्किएका बेला प्रधानमन्त्रीले बुधबारमात्रै कुनै पनि हालतमा राजीनामा नदिने बताएका थिए । बिहीबार भने उनले आफूविरुद्ध अविश्वासको प्रस्ताव आएमा सामना गर्ने बताएका हुन् । आफ्नो विपक्षमा रहेका दाहाल र नेपाल खेमाले संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याउन सक्ने ओलीको आशंका रहेको छ ।