२०७८ बैशाख ८ , बुधवार

कुनै पनि परिस्थितिमा राजीनामा दिन्‍नँः प्रधानमन्त्री केपी शर्मा ओली

सुनाखरी न्युज/काठमाडौँ —

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पारेका छन् । चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै बुधबार बिहान आफूले  कुनै पनि परिस्थितिमा राजीनामा नदिने बताएका हुन् ।

पछिल्लो समय पार्टीभित्रैबाट राजीनामा दिन दबाब सिर्जना भएको अवस्थामा प्रधानमन्त्री ओलीले देशका लागि भएपनि राजीनामा नदिने स्पष्ट पारेका हुन् । उनले भने,‘तपाईंहरु विचार गर्नुस के अहिले मैले राजीनामा दिन हुन्छ ? राजीनामा दिन मिल्छ ? मेरो लागि होइन देशको लागि मैले राजीनामा दिनु भनेको देशलाई बर्बादितिर जान दिनु हो । त्यसकारण म राजीनामा दिनेवाला छैन् । त्यो मैले दोहोर्‍याएर भनेको छु फेरि केहीले खोइ त राजीनामा भनेर मागिराखेका छन् । बेकारको कुरा हो भन्ने सोच्छु ।’

प्रधानमन्त्री ओलीले आफ्नो रहरले भन्दा पनि जनताको आवश्यकता र समर्थनले प्रधानमन्त्री बनेको समेत बताए । कुनैपनि जालझेल तथा तिकडमबाट नभई व्यापक जनसमर्थनबाट प्रधानमन्त्री बनेकाले सरकार फेरिन्छकी भन्ने दुविधामा नपर्न समेत आग्रह गरे ।