२०७७ चैत्र ३० , सोमवार

मदिरा बजारमा उत्साह

काठमाडौं – विश्वव्यापी मदिरा बजारको तथ्यांक विश्लेषण गर्ने संस्था ‘आईडब्ल्यूएसआर’ले गत जेठको मध्यतिर एउटा प्रतिवेदन प्रकाशित गरेर कोरोना भाइरसका कारण मदिरा बजारमा ज्यादै ठूलो असर परेको उल्लेख गरेको थियो। उक्त प्रतिवेदनले मदिरा बजार पुरानै वृद्धिको बाटोमा फर्किन पाँच वर्ष कुर्नुपर्ने उल्लेख गरेको थियो। तर, त्यसको दुई महिना वित्न नपाउँदै थुप्रै मुलुकमा मदिराको खपत बढ्न थालेको विवरण आए।

 

यसबीचमा चारमहिने मदिरा प्रतिबन्धलाई दक्षिण अफ्रिकाले ३१ साउनमा फुकुवा गरेको घोषणा गर्‍यो। कोरोना भाइरसको प्रभाव बढ्दै गएपछि दक्षिण अफ्रिकामात्र होइन, थाइल्यान्ड, भारतजस्ता मुलुकले पनि मदिरा उपभोग, उत्पादन र बिक्रीवितरणमा आंशिक वा पूर्ण प्रतिबन्ध लगाएका थिए। केन्याले रेस्टुरेन्टमा मदिरा बेच्न रोक लगाएको थियो। मेक्सिकोमा पनि कतिपय प्रान्तमा मदिरा प्रतिबन्ध गरिएको थियो।

तर युरोप र अमेरिकामा भने कोरोनाले मदिरा बजारलाई भिन्दै रूपमा बढावा दिन थाल्यो। क्वारेन्टाइन र आइसोलेसनमा बस्नेले मदिरालाई ‘एकान्तबासको सहारा’ सम्झन थाले। यो क्रम विस्तारै अन्यत्र पनि बढ्यो। संसारमा सर्वाधिक ‘अप्राकृतिक मृत्यु’ खेप्नेमध्येको एक दक्षिण अफ्रिकाले अस्पतालमा रक्सीका बिरामीको संख्या घटाएर कोभिडका बिरामीको उपचारलाई शय्या खाली गर्न चाहेको थियो। तर, अर्थतन्त्रमा ३ प्रतिशतभन्दा बढी ९नेपालमा पूरै पर्यटन क्षेत्रको भन्दा ज्यादा० योगदान दिने मदिरा बजारको कालोबजारी र अवैध व्यापार चुलिन पुग्यो।

 

२२ चैत २०७४ मा भारतमा बिहार राज्यले मदिरामा पूर्ण प्रतिबन्ध लगाएपछि नेपाली सीमावर्ती इलाकामा सस्तो मदिराको व्यापार मौलायो। यसरी नै संसारभर यस्ता प्रतिबन्ध र रोजगारी कटौतीले पनि रक्सीको व्यापारलाई सोचेजस्तो घटाउन सकेको छैन। कोरोना भाइरसले मुटु, मिर्गौला, कलेजो र स्नायु प्रणालीजस्ता संवेदनशील अंगलाई समेत प्रभाव पारेर ज्यान लिने खतरा रहेको भन्दै विश्व स्वास्थ्य संगठन र कतिपय चिकित्सकले सचेत गराइरहँदा पनि मदिराको बजारमा दीर्घकालीन कमी देखिने संकेत विस्तारै फिक्का हुँदै छन्।

 

दसैंले चम्कियो बजार
नेपालमा पनि लकडाउन सुरु भएयता भारी मात्रामा घटेको भनिएको मदिरा बजार दसैं लागेपछि ‘उत्साहजन’ रूपमा बढेको व्यवसायीले बताएका छन्। ‘गत वर्ष त लकडाउन भएपछि बियरको बजार झन्डै ६० प्रतिशत र रक्सीको बजार ३५ प्रतिशत घटेको थियो’, मदिरा उद्यमी रवि केसी भन्छन्, ‘दसैंतिहारसँगै भने व्यवसाय बढेर आशा जागेको छ।’यती डिस्टिलरी र याक ब्रुअरीका सञ्चालक केसीले विगतमा लकडाउन र निषेधाज्ञाले मदिरा उद्योग मर्कामा परेको बताए। वास्तविकता जाँच्ने भरपर्दो व्यवस्था नहुँदा मदिरा व्यापारमा कति असर पर्‍यो भन्ने निक्र्योल गर्न मुस्किल छ। तर, अधिकांश रेस्टुरेन्ट र बार लामो समय बन्द रहँदा मदिरा व्यवसायमा ठूलो असर परेको देखिन्छ।

 

यता असोज २२ मा सरकारले सात महिनाअघि मदिरा आयातमा लगाएको प्रतिबन्ध पनि फुकुवा गरेको छ। गत चैतमा लकडाउन सुरु भएसँगै विदेशी मुद्राको सञ्चितिसमेत घट्दै जाँदा सरकारले विदेशी मदिरा र महँगा गाडी तथा मरिच, केराउजस्ता वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो। अहिले सरकारी ढुकुटीमा विदेशी मुद्रा थुप्रिँदै गएको र राजस्व लक्ष्य पछ्याउन धौधौ भएपछि सरकारले गाडी र रक्सीका आयात पनि खुला गरेको हो। विदेशी मदिराको आयात खुला भएपछि दसैंमा मदिरा बजार उकासिएको बिक्रेताहरू बताउँछन्।

बढ्दो लगानी
पछिल्लो समय मदिरा उद्योगमा लगानी बढ्न थालेको छ। केही वर्षयता नेपालमा उत्पादन बन्द गरेको रोयल स्टेगले दसैंतिहारलाई लक्ष्य गरेर पुनः उत्पादन सुरु गरेको छ। साना मदिरा उत्पादक लगानी र उत्पादन क्षमता बढाउन लागिपरेका छन्। टेन्सबर्ग बियर उत्पादन गर्ने टाइगर्स बु्रअरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आधा स्वामित्वको मालिक बनाएर मार्सी बियरको उत्पादन थाल्ने भएको छ। एभरेस्ट हब्र्स प्रोसेसिङले उत्पादन गर्ने यार्सागुम्बा बेभरेजले वार्षिक ६ हजार लिटर उत्पादन क्षमतालाई ४ लाख लिटर पुर्‍याउन ३५ करोड रुपैयाँ थप पुँजी लगानी गर्ने बताएको छ। अहिले बैंकको ब्याज निकै तल्लो स्तरमा झरेका कारण यस्ता उद्योगीलाई थप उत्प्रेरणा मिलेको कतिपय व्यवसायीको तर्क छ।

 

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको पहिलो दुई महिनामा मदिरा उद्योगमा ४२ करोड ७५ लाख रुपैयाँ थप ऋण प्रवाह गरेका बैंकले यो वर्षको साउन र भदौमा मात्रै ६९ करोड थप कर्जा लगानी गरेका छन्। यसले पनि व्यवसायी मदिरा बजारमा आशावादी भएको देखाउँछ। व्यवसायीको अनुसार नेपालमा सस्तो मूल्यका रक्सीको उत्पादन पनि फस्टाएको छ। त्यसो त, संसारभर नै अहिले सस्ता र कम गुणस्तरका मदिराको माग बढेको एजेन्सीले उल्लेख गरेका छन्। कोभिडका कारण मानिसहरू रोजगारी गुमाउने, आयस्रोत खस्किने र एकान्तबासमा बस्दा बढी समय मदिरामा मग्न हुन सस्तो मदिराको माग बढेको हो। घरेलु मदिराको उत्पादनमा सरकारले नै सीमा तोकिदिएपछि सस्तो ‘सिलप्याक’तिर धेरैको ध्यान तानिएको मदिरा व्यवसायी बताउँछन्। नेपालमा बोतलको ७० रुपैयाँदेखि ८ लाख रुपैयाँसम्मका विभिन्न ब्रान्डका मदिरा उपलब्ध छन्। यसमध्ये सस्ता रक्सीको बजार ८० प्रतिशतभन्दा बढी भएको व्यवसायी बताउँछन्।
अन्नपूर्ण पोष्ट बाट साभार