२०७८ बैशाख ३ , शुक्रवार

यो साता विदेशमा रहेका ९ सय ६३ नेपालीमा कोरोना सङ्क्रमण

सुनाखरी न्युज/काठमाडौं – कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भएदेखि विदेशमा रहेका नेपालीहरुमा थप कोरोना सङ्क्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता विदेशमा रहेका थप ९६३ नेपालीलाई कोरोना सङ्क्रमण देखिएको हो । सङ्क्रमति मध्ये ४५० जना रोमानियामा रहेका नेपाली छन् ।

 

गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका संयोजक डा। सञ्जीव सापकोटाका अनुसार यो साता रोमानिया, पोल्याण्ड, स्पेन, कतार, भारत, क्यानाडा र बेलायतमा रहेका नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् । यद्यपि यो साता विदेशमा कुनै पनि नेपालीले कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेन ।

 

विदेशमा ४२ देशमा रहेका नेपाली मध्ये ४३ हजार ५६९ नेपाली कोरोना भाइरसको सङ्क्रमणमा परेका छन् । तीमध्ये ३९ हजार ५६५ जना अर्थात ९२ प्रतिशत नेपाली कोरोना मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ । गत सातासम्म १९ देशका २८४ नेपालीको कोरोना सङ्क्रमणबाट निधन भइसकेको सङ्घले जनाएको छ ।

 

नेपालका कोरोना मुक्त हुनेको संख्या बढ्यो
कोरोना भाइरसका कारण नेपालका संक्रमण हुने मध्ये कोरोना मुक्त हुनेहरुको संख्यामा बृद्धि भएको छ । गत हप्ता कोरोना संक्रमणबाट मुक्त हुने औसत ७० प्रतिशत रहेकोमा यो साता कुल संक्रमितको ७६ दशमलव ९ प्रतिशत कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

यो साता नेपालमा मात्र १ लाख ७० हजार ७ सय ४३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन भने ती मध्ये १ लाख ३१ हजार २ सय २२ जना कोरोना मुक्त भएका छन ।शनिवार साँझ सम्म नेपालमा ९ सय ३७ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

 

अनावश्यक यात्रा नगरौं
गैरआवासीय नेपाली संघले अति आवश्यक बाहेक अन्य कामको लागि यात्रा नगर्न सबैलाई आग्रह गरेको छ । कोरानो भाइरसको विश्वव्यापी संक्रमणको कारणले युके, फ्रान्स, बेल्जियम र जर्मनी जस्ता शक्तिशाली मुलुकमा दोस्रो चरणको लकडाउन सुरु भएको अवस्थामा अतिआवश्यक बाहेक अन्य प्रयोजनको लागि यात्रा तय नगर्न संघले आव्हान गरेको हो ।

गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले सार्वजनिक कार्यक्रममा उपस्थित नहुन र अनावश्यक भेला समेत नगर्न आग्रह गर्नुभएको छ । स्वास्थ्य समितिले सार्वजनिक स्थलहरुमा निस्किदा मानिसहरुलाई सके सम्म माक्सको प्रयोग गर्न, हात धुन, मुख नछुन, नाक नकोट्याउन र अनिवार्य रुपमा माक्स प्रयोग गर्न अनुरोध गरेको छ ।

१ लाख २६ हजार जनाको उद्धार
गैरआवासीय नेपाली संघ, नेपाल सरकार र विदेशस्थित नेपाली कुटनीतिक नियोगहरुको संयुक्त पहलमा हाल सम्म ३३ देशका १ लाख २६ हजार ९ सय ८९ जना नेपालीहरुको उद्धार गरिएको छ ।