२०७७ चैत्र ३० , सोमवार

केवल सेवाको शुल्क बढाउन प्रस्ताव

सुनाखरी न्युज/ काठमाडौं ।

विज्ञापन रहित (क्लिन फिड) पूर्णरुपमा कार्यान्वयनमा आएपछि मासिक रुपमा ग्राहकले तिर्ने शुल्क बढ्ने केवल सेवा प्रदायकहरूले बताएका छन् । विदेशी च्यानलहरुले नेपालका लागि छुट्टै क्लिन फिड दिँदा खर्च बढ्ने भएकाले टेलिभिजन हेरेबापतको शुल्क बढ्नसक्ने तर्क उनीहरुको छ ।

क्लिन फिडका लागि प्रयोग हुने उपकरणको लागत उच्च हुने, सञ्चालन लागत र स्याटेलाइटको लागत बढ्ने भएकाले ग्राहकले तिर्नुपर्ने शुल्क पनि बढ्न सक्ने केवल सेवा प्रदायकहरूले बताएका छन् ।

नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन प्रसारणमा विज्ञापनरहित (क्लिन फिड) लागू भएको एक साता पुगेको छ । तर, कतिपय च्यानलहरुले क्लिन फिडका लागि आवश्यक उपकरण जडान गरिनसक्दा प्रसारण बन्द छ ।

नेपाल केबल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष ध्रुव शर्मा क्लिन फिडका लागि प्रसारकहरुले प्रविधिमा ठूलो लगानी गर्नुपर्दा खर्च बढेको बताउँछन् । क्लिन फिड गरिएका च्यानल लिएबापत नेपालका टेलिभिजन वितरकले प्रसारकलाई तिर्ने पैसा पनि बढ्ने र त्यसको भार उपभोक्तामाथि पर्ने उनको भनाइ छ ।

सरकारले टेलिभिजनको आधारभूत सेवा शुल्क निर्धारण गर्ने र विदेशी च्यानललाई प्याकेजमा हेर्न पाउने व्यवस्था नगरे ग्राहकले तिर्नुपर्ने शुल्क निकट भविश्यमा नै बढ्ने अध्यक्ष शर्माले बताए ।

आधारभुत प्याकेज बाहेकका च्यानलहरुमा मनपर्ने च्यानल मात्रै हेर्न पाउने सुविधा नदिने हो भने अहिलेको शुल्कमा २५ देखि ३० प्रतिशत सम्म बृद्धि हुने उनको भनाइ छ ।