२०७७ चैत्र २९ , आइतवार

सामसुङका स्मार्टफोनको बिक्रीदरमा ५० प्रतिशतले वृद्धि, आम्दानी ३ महिनामा ६० खर्ब रुपैयाँ

सुनाखरी न्युज/ काठमाडौं ।

सामसुङले पछिल्लो त्रैमासिकमा कीर्तिमानी आम्दानी गर्न सफल भएको छ । जुलाई देखि सेप्टेम्बर सम्मको अवधिमा सामसुङले ५९ अर्ब डलर अर्थात् ६० खर्ब रुपैयाँ भन्दा धेरै आम्दानी गर्न सफल भएको रिपोर्ट सार्वजनिक भएको छ ।

कम्पनीले सार्वजनिक गरेको त्रैमासिक रिपोर्ट अनुसार चालू सन् २०२० को तेश्रो त्रैमासिकमा सामसुङका स्मार्टफोनको बिक्रीदरमा ५० प्रतिशतले वृद्धि भएको छ भने माइक्रोचिप्सको बिक्री ८२ प्रतिशतले बढेको छ । स्मार्टफोन र माइक्रोचिप्सको बिक्रीमा भएको उच्च वृद्धिका कारण सामसुङको आम्दानीमा उछाल आएको हो । यस अवधिमा सामसुङका प्रिमियम टेलिभिजन तथा होम एप्लाइन्सेसहरुको बिक्रीमा समेत वृद्धि भएको छ ।

कम्पनीको आम्दानीसँगै मुनाफामा पनि उच्च वृद्धि भएको छ । तेश्रो त्रैमासिकमा सामसुङले खूद मुनाफा ८ अर्ब ३० करोड डलर मुनाफा गर्न सफल भएको छ । यो मुनाफा गत वर्षको सोही अवधिको तुलनामा ४९ प्रतिशतले बढी हो ।

विश्लेषकहरुका अनुसार अमेरिकाले चिनिया कम्पनी हुवावेमाथि प्रतिबन्ध लगाएसँगै सामसुङका स्मार्टफोन र चिपको बिक्रीदर ह्वात्तै बढेको हो । यसबाट सामसुङले हुवावेको बजार हिस्सा कब्जा गरिरहेको र अमेरिकी प्रतिबन्धले चिनिया कम्पनी हुवावेलाई ठूलो असर परेको देखिएको छ ।

गत अगष्ट महिनामा अमेरिकी वाणिज्य विभागले एक घोषणा गर्दै लाइसेन्स विना हुवोलाई चिप्स बिक्री गर्ने विदेशी कम्पनीमाथि पनि प्रतिबन्ध लगाउने बताएको थियो । ट्रम्प प्रशासनले मुलुकको राष्ट्रिय सुरक्षाको कारण देखाउँदै हुवावेमात्र नभई टिकटक र विच्याट जस्ता चिनिया कम्पनीहरुमाथि पनि प्रतिबन्धको घोषणा गरिसकेको छ ।

– बीबीसी