२०७७ चैत्र ३० , सोमवार

लक डाउनपछि यसरी उकालो लाग्यो सेयर बजार, यस्तो छ कारण !

सुनाखरी न्युज/ काठमाडौं –
लक डाउन खुला भएयता सेयर बजारमा क्रमशः उत्साह छाएको तथ्यांकले देखाएको छ । सरकारले गरेको लक डाउनका कारण ३ महिना भन्दा बढी सेयर बजार बन्द भयो । महामारीकै बीच सेयर कारोबार खुला गर्दा बजार झन् तल भर्ने कतिपयको आशंका रहेको थियो । बीचमा केही दिन बजार खुल्दा घटेर आम लगानीकर्ता त्रसित पनि भएका थिए । तर लक डाउन सकिएपछि फेरि खुला भएको सेयर बजारले भने त्यो शंकाको ठीक विपरीत व्यवहार गरेको देखिएको छ ।

बजार खुलेपछि लगानीकर्ता झन उत्साहित देखिए । बजारको गति पनि उकालो यात्रातर्फ अघि बढेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । लक डाउन खुलेपछि पहिलो कारोबार असार १५ मा भएको थियो । त्यसबेला ११८८ को विन्दुमा रहेको नेप्से परिसूचक असार मसान्तसम्म आइपुग्दै १३६२ अंकमा पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार भदौ मसान्तसम्म आइपुग्दा नेप्से परिसूचक १५४१ विन्दुमा पुगेको देखिन्छ ।

केन्द्रीय बैंकको तथ्यांक अनुसार २ महिना अवधिमा नेप्से परिसूचक १७९ अंकले बढेको छ । अघिल्लो वर्ष सोही अवधिसँग तुलना गर्दा नेप्से परिसूचक ३९६ अंकले वृद्धि भएको देखिन्छ ।