२०७८ बैशाख ३ , शुक्रवार

नेपाली सेनाको नजरमा देखिएको राष्ट्रिय सुरक्षाका दुई मुख्य चुनौति !

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली सेनाले राष्ट्रिय सुरक्षाका दुई मुख्य चुनौति रहेको ठहर गरेको छ । कोरोना महामारीका बीच भर्चुअल रुपमा भएको पृतनापति समन्वयात्मकमा आन्तरिक तथा बाह्य सुरक्षा स्थितिबारे समीक्षा गरेको छ ।

तीन दिनसम्म भएको बैठकमा कोरोना संक्रमणको अवस्था तथा प्रतिकार्य एवं रोकथामको रणनीति, राष्ट्रिय सुरक्षाको अवस्था, चुनौति र भूराजनीतिक परिवेशबारे पनि छलफल भएको छ । जंगीअड्डाका जर्नेलहरुले हालको मुख्य चुनौति कोभिड–१९ (कोरोना) भाइरसको बढ्दो संक्रमण र त्यसबाट सिर्जित हुनसक्ने स्थितिलाई मानेका छन् । हाल नेपालमा कोरोना संक्रमणको दर विश्लेषण गर्दै सेनाले आगामी दिनमा संक्रमणको स्थिति थप जटिल बन्दै जानसक्ने आँकलन गरेको छ ।

कोरोना भाइरसको फैलावट विभिन्न मुलुकमा र नेपालमा कोरोनाको प्रवृत्तिगत विश्लेषणले पनि यसलाई संकेत गरेको सैनिक अधिकृतहरुको निष्कर्ष छ । ‘जाडो मौसमका कारण पनि कोभिड–१९ को महामारी बढ्दै जाने पुर्वानुमान गर्न सकिन्छ’, प्रधानसेनापति पूर्णचन्द्र थापाले भनेका छन्, ‘सबै पृतनाहरुले सम्बन्धित सरोकारवाला निकायहरुसँगको निरन्तर समन्वयमा आवश्यक पूर्वतयारी गर्नुहोला ।’

संक्रमण रोकथाम तथा प्रतिकार्यका लागि अग्रमोर्चामा रहेर काम गर्नुपर्ने भएकाले आफ्ना फौजको सुरक्षामा विशेष ध्यान दिनुपर्ने पनि उनले भनेका छन् । ‘संक्रमण भइहालेमा उचित उपचारको व्यवस्था मिलाउन र तिनको हौसला कायम राख्न तथा राख्न लगाउन सबैलाई निर्देशित गर्दछु’, थापाले भनेका छन् ।

महामारीको नियन्त्रणका लागि हालसम्म सेनाले गरेको काम पनि उपलब्धिमुलक भएको जर्नेलहरुको ठम्याइ छ । विदेशमा अलपत्र नागरिकको उद्दार, व्यवस्थापन, स्थलमार्गबाट आउने नागरिकको सहजिकरण, क्वारेन्टिन र आइसोलेसन व्यवस्थापनसँगै प्रतिकार्यमा सेनाले खेलेको भूमिकाबारे पनि छलफल भएको एक अधिकृत बताउँछन् ।

सम्मेलनमा भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेको नेपाल भ्रमणको विषयमा समेत छलफल भएको छ । उनलाई यही कात्तिक महिनाभित्र नेपाल ल्याउने गरी जंगीअड्डाले तयारी गरेको छ । यद्यपि, छलफलमा केके भए भन्ने विषय जंगीअड्डाले गोप्य राखेको छ ।

उपत्यकाबाहिरका जर्नेलहरुले भर्चुअल उपस्थिति जनाएको सम्मेलनमा जंगीअड्डाका विभिन्न महानिर्देशनालय, निर्देशनालय, विभाग तथा कार्यालयको नेतृत्व गर्ने सहायक रथीको भौतिक उपस्थिति थियो ।