२०७७ चैत्र ३० , सोमवार

सेयर बजारमा दोहोरो अंकको चमक

सुनाखरी न्युज/ काठमाडौँ – सेयर बजारको चमकले मंगलबार पनि निरन्तरता पाएको छ । विशेष गरी नेप्से सूचकमा क्रमशः विस्तार देखिएको छ । कारोबार रकम पनि बढोत्तरी हुँदै गएको देखिन्छ । यसअघि दशैं खर्च जोहो गर्नका लागि लगानीकर्ताले बिक्री चाप बढाउँदा सूचक केही दबाबमा परेको थियो । तर यतिबेला उनीहरुले खर्च जोहो गरिसकेको अनुमान गरिएको छ । सोही कारण फेस्टिभ सिजनमा पनि सूचक विस्तार भइरहेको छ ।

 

यसबाहेक छिटोछिटो खरिदबिक्री गर्ने लगानीकर्ताहरुले नाफा बुक गरिसकेर फेरि बजार प्रवेश गरेको अनुमान गरिएको छ । यसले पनि बजारको गतिलाई विस्तार गर्न सहयोग पुगेको हो । बढिरहेको बजारमा करेक्सन पनि महत्वपूर्ण पाटो हो । करेक्सनले बजारलाई थप सबल बनाउने गर्छ । अहिले पनि केही करेक्सनपछि फेरि बजारको उकालो यात्रा सुरु भएको हो । सेयर बजारको गति र प्रवृत्ति जतिबेला पनि परिवर्तन हुन सक्ने भएकाले लगानीकर्ताले सबल वित्तीय सूचक भएका कम्पनीमा जोखिम बहन क्षमता समेतलाई मध्यनजर गरी कारोबार गर्नुपर्छ । लगानी गर्ने कम्पनीको प्रमुख वित्तीय सूचकहरुका बारेमा जानकार हुन आवश्यक छ । लाभांश क्षमता, कमाई, रिभर्ज, व्यवस्थापन तथा सञ्चालक समूहका बारेमा पनि जानकारी राख्नुपर्छ ।

सेयर बजार सुधारका लागि प्रमुख पक्ष भनेको अधिक तरलता र घट्दो ब्याजदर नै हो । यतिबेला वित्तीय प्रणालीमा अधिक लगानी योग्य रकम छ । ब्याजदर सस्तो भएको छ । कोरोनाका कारण लगानीका अन्य क्षेत्रहरु संकुचित भएका छन् । यसर्थ, सुस्त र क्रमशः भए पनि सेयर बजारमै चमक आउने देखिएको छ । तर यसको अर्थ, बजार सधैं बढ्छ भन्ने होइन । तलमाथि गर्दै औसतमा सूचकले माथिल्ला रेखाहरु कोर्दै जाने हो । लगानीकर्ताको मनोबल पनि उच्च हुन आवश्यक छ ।

नेप्से सूचक १२.४७ अंकले बढेर १५८२.८४ विन्दुमा आइपुगेको छ । १९३ कम्पनीको १ अर्ब २४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ४९ लाख १३ हजार ४९७ कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार भएका सबै समूहका सूचक वृद्धि भएका छन् । जीवन बिमाा समूहको सूचक सबैभन्दा बढी ७३.२५ अंकले बढेको छ । वाणिज्य बैंक समूहमा ७.३५ अंकको तेजी आएको छ ।