२०७८ बैशाख ४ , शनिवार

जिल्ला प्रहरी कार्यालय पर्वतको प्राङगणमा ६५ औं प्रहरी दिवस २०७७ सम्पन्न

सुनाखरी न्युज/ पर्वत – जिल्ला प्रहरी कार्यालय पर्वतको प्राङगणमा ६५ औं प्रहरी दिवस २०७७ को मुल समारोह कार्यक्रम सम्पन्न भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक बिश्वराज अधिकारीको अध्यक्षता, प्रमुख आतिथि प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी, कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, पर्वत जिल्ला अदालतका श्रेष्तेदार, शसष्त्र प्रहरी बल २५ नं. गणका सशस्त्र प्रहरी नायव उपरीक्षक, नेपाली सेना केवलजङ्ग गुल्मका सहायक सेनानी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत लगायत विभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुख तथा प्रतिनीधिहरुको उपस्थिती रहेको थियो। यसका साथै उद्योग वाणिज्य संघका अध्यक्ष, सामुदायिक सेवा केन्द्रका अध्यक्ष, जिल्ला वार एसोसिएसनका अध्यक्ष, पत्रकार महासंघ पर्वतका अध्यक्ष, विभिन्न वडाका वडा अध्यक्षहरु, पुर्व प्रहरी संगठन पर्वतका अध्यक्ष, अमर प्रहरी परिवारका सदस्यहरु, पुर्व प्रहरी कर्मचारीहरू, अमर प्रहरीका परिवारजनहरू, समाजसेवी, वुद्दीजिवी, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

 

सोही अवसरमा कार्यालयको प्राङगणमा रहेको अमर प्रहरी स्मारिकामा आगन्तुक सम्पुर्ण अतिथि महानुभावहरुले विर अमर प्रहरीहरूको सम्झनामा पुष्प गुच्छा तथा माल्यार्पण गर्नु भएको र शहिदहरुप्रती श्रद्वाञ्जली व्यक्त गरी अमर प्रहरीका परिवारजनहरुले दिप प्रज्वलन समेत गर्नुभएको थियो । कार्यक्रममा कुश्मा नगरपालिका, पर्वत उद्योग वाणिज्य संघ, कुश्मा नगरपालिका वडा नं। ६ का वडाध्यक्ष, सामुदायीक प्रहरी सेवा केन्द्र कुश्माका अध्यक्ष, नमुना आवाशिय मा.वि.का प्रधानध्यापक ईन्द्रमान खत्री समेतलाई सम्मान पत्र वितरण गरिएको थियो ।

 

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराद्वारा उत्कृष्ट अनुसन्धानकर्ता छनोट भई पुरस्कृत भएका प्रहरी जवान राजेश बि.क. लाई प्रशंसा पत्र वितरण गर्नुका साथै जिल्लामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई समेत पुरस्कार प्रदान गरिएको थियो भने ६५ औं प्रहरी दिवस २०७७ कै पूर्वसन्ध्यामा आयोजना गरिएका डबल ब्याडमिन्टन तथा डबल टेबुल टेनिस प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने प्रहरी कर्मचारीहरुलाई मेडल तथा प्रमाणपत्र समेत वितरण गरिएको थियो । त्यस्तै २०७६ माघ २ गते तनहुँको देवघाट देखी डिउटीबाट फर्किने क्रममा मुगलिङ  नारायणघाट सडकखण्डमा सवारी दुर्घटना हुन गई घाईते भई, कम्मर भन्दा मुनिको भाग नचल्ने अवस्थामा रहेका र हाल पोखरामा उपचारार्थ रहेका ओम प्रकाश दर्जीलाई पर्वत उद्योग वाणिज्य संघ मार्फत रु २०,००० अक्षेरीपी बीस हजार रुपैया सहयोग प्रदान गरिएको थियो ।

 

कार्यक्रममा मन्तव्यका क्रममा पुर्व प्रहरी संगठन पर्वतका सदश्य हरिनारायण गिरी, अमर प्रहरी संगठन पर्वतका अध्यक्ष मेनुका लामगादे र सामुदायीक प्रहरी सेवा केन्द्र कुश्माका अध्यक्ष शिव प्रसाद सुवेदी लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा बोल्दै प्र।जि।अ। रेग्मीले समाजमा घट्ने अपराध नियन्त्रण तथा सफल अनुसन्धान गरी शान्ति सुरक्षा स्थापना गर्न नेपाल प्रहरीले खेलेको भुमिकाको प्रंशसा गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतले शान्ति सुरक्षा तथा अमनचयन कायम गर्न नागरिक र प्रहरीसंगको सहकार्य अपरिहार्य रहेको बताउदै प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको थियो ।

 

कार्यक्रमको अध्यक्ष तथा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक बिश्वराज अधिकारीले अमर प्रहरी तथा पुर्व प्रहरी कर्मचारीले पुर्याहएको योगदानको सम्मान गर्दै जिल्ला प्रहरी कार्यालय पर्वत अपराध विरुद्ध शुन्य सहनशिलताको नितिमा अघि बढेको र समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रतिवद्ध रहेको स्पष्ट पार्दै उपस्थित सम्पुर्णमा धन्यवाद ज्ञापन सहित कार्यक्रमको समापन गर्नुभएको थियो । कार्यक्रमको संचालन जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव निरीक्षक पुर्णिमा थापाले गर्नु भएको थियो ।