२०७७ चैत्र ३० , सोमवार

अपराधको जालो तोड्न प्रहरी चनाखो हुनुपर्छ : प्रधानमन्त्री ओली

सुनाखरी न्युज/ काठमाडौँ – नेपाल प्रहरीले बिहीबार ६५ औं प्रहरी दिवस मनाएको छ । दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा विशेष कार्यक्रम गरियो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, पूर्वगृहमन्त्रीहरु, सुरक्षा निकायका प्रमुख लगायत उच्च सरकारी अधिकारीहरु सहभागी थिए ।

 

दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा रहेको अमर प्रहरी स्मारकमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख अतिथिका तर्फबाट मन्तव्य राख्र्दै सीमित स्रोतसाधनमा प्रहरीले उत्कृष्ट काम गरेको बन्दै ओलीले प्रहरीको प्रशंशा गर्नुभएको हो । अपराधको जालो तोड्न प्रहरी चनाखो हुनुपर्ने उहाँको भनाइ छ । प्रहरीका सामू अफवाह, भ्रम फैलाउने गतिविधि नयाँ चुनौतीको रुपमा आएको बताउँदै प्रधानमन्त्री ओलीले अनुचित कार्य विधिअनुसार सामना गर्नुपर्ने बताउनुभयो । हिंसा र अतिवाद समाज परिवर्तनको सम्बाहक हुन नसक्ने उहाँको दाबी छ ।

 

निर्वाचनको माध्यमबाट आएको सरकार सुशासन, स्वच्छता, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र विकास जस्ता कुरालाई आधारभूत लक्ष्य र उद्देश्यको रुपमा लिएर अगाडि बढेको उहाँको दाबी छ । अझै पनि व्यवस्था नै उल्टाउने जस्ता संविधान विपरित र जनभावना विपरितका कुराले देशलाई सही बाटोमा अगाडि बढाउन सहयोग नगर्ने उहाँले दाबी गर्नुभयो । कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले सोचमा परिवर्तन आवश्यक भएको बताउनुभएको छ । प्रहरीको कार्य प्रसंशनीय रहेको उहाँको भनाइ छ । कमजोरी हुँदा औला उठाउने समाजले राम्रो काम गर्दा प्रशंशा गर्न कन्जुस्याई गर्न नहुने उहाँले बताउनुभयो ।