२०७७ चैत्र ३१ , मंगलबार

नयाँ मन्त्रीले सपथ खाएकै दिन सचिवहरुको व्यापक सरुवा, कुन मन्त्रालयमा को ?

सुनाखरी न्युज/ काठमाडौं ।

मन्त्रिपरिषद बैठकले  नवनियुक्त तीन मन्त्रीले सपथ ग्रहण गरेकै दिन बसेको करिब एक दर्जन सचिवहरुको सरुवा गरेको छ । मन्त्रिपरिषद पुनर्गठन गरिएको भोलिपल्ट बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले नयाँ मन्त्रीहरुलाई ढुक्कसँग काम गर्न सहयोग गर्ने बताए ।

तर देशमा बढिरहेको कोरोना महामारीका विषयमा भने कुनै छलफल नभएको एक मन्त्रीले जानकारी दिए । ‘कोरोनाबारे छलफल भएन, सचिवहरुको सरुवा भयो, नयाँ मन्त्रीहरुलाई स्वागत गरियो, बैठकबारे जानकारी दिँदै एक मन्त्रीले भने ।

कुन सचिवको सरुवा कहाँ ?

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सुरुवा गरिएको छ । खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको सार्वजनिक खरीद अनुगमन कार्यालयमा सरुवा भएका छन् ।

प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव केदार न्यौपाने उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएका छन् भने उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई जल तथा उर्जा आयोगका सरुवा गरिएको छ भने सो आयोगमा कार्यरत सचिव रमेशप्रसाद सिंहलाई शहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

काठमाडौं महानगरपालिका सचिव एकनारायण अर्याललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव बनाइएको छ ।

सिञ्चाई सचिव रविन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वधार मन्त्रालयमा लगिएको छ । प्रधानमन्त्री कार्यालयमा कार्यरत यादव कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

बिहीबारको बैठकले सरकारका प्रवक्ता तोक्ने र कोरोना नियन्त्रणका लागि ईश्वर पोखरेलको नेतृत्वमा रहेको सीसीएमसीको जिम्मेवारीबारे पनि छलफल हुने अनुमान गरिएकोमा सो विषयमा पनि छलफल नभएको स्रोतले बतायो ।