२०७८ बैशाख ४ , शनिवार

कर्णालीका मुख्यमन्त्री शाहीलाई माधव नेपाल पक्षको साथ, जोगिने भयो कुर्सी

सुनाखरी न्युज-

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिने भएको छ।  आइतबार नेकपाका १८ जना सांसदले पार्टी संसदीय दलका नेता रहेका शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि उनी नेतृत्वको सरकार ढल्ने आकलन गरिएको थियो।

दुई दिनसम्म केन्द्र र प्रदेशमा भएका विभिन्न प्रयासपछि मंगलबार नेता नेपाल पक्षका ८ जना सांसद हस्ताक्षर फिर्ता लिन सहमत भएका हुन्। मुख्यमन्त्री शाहीनिकट स्रोतका अनुसार नेपाल पक्षीय सांसदसँग मन्त्रीमण्डल पुनर्गठनको सहमति भएको छ।

एक-दुई जना नयाँ मन्त्री बनाउने वा पुरै सेट नै फेर्नेबारे पछि कुरा हुन्छ, ‘स्रोतले भन्यो,’उहाँहरू सहमत भएपछि संसदीय दलमा दर्ता भएको अविश्वासको प्रस्तावको सन्दर्भ सकियो।’ सहमति भएसँगै संसदीय दलका नेता शाहीले नेपाल पक्षका सांसद कर्मराज शाहीलाई संसदीय दलको सचेतकमा नियुक्त गरेका छन्। कर्मराजले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने १८ जनामध्ये एक हुन्।