सुनाखरी न्युज/ काठमाडौं – आन्तरिक राजस्व विभागले मूल्य अभिवृद्धि कर भ्याट मा दर्ता भएर बर्षौदेखी कर विवरण नबुझाएका करदाताको विवरण सार्वजनिक गरेको छ । राजस्व विभागले २९ हजार ४ सय ४७ करदाताहरुलाई कर विवरण बुझाउन आग्रह गर्दै विवरण सार्वजनिक गरेको हो ।
विभागका उपमहानिर्देशक मुक्तिप्रसाद पाण्डेले भ्याटमा दर्ता भएर कर छली गर्ने नियतले नयाँ कम्पनीबाट कारोबार गरेर नगरेको अध्ययन गर्ने भन्दै त्यस्तो गरेको भेटिएमा राजस्व छलीमा कारवाही गरिने बताए । उपमहानिर्देशक पाण्डेले लामो समयदेखी कर विवरण नबुझाएका करदातालाई आर्थिक ऐनले दिएको सुविधा प्रयोग गरी करमा छुट दिइएको बताए । कोभिड संक्रमणअघि नियमित कर विवरण बुझाईरहका कम्पनीहरुले पनि नियमित कर बुझाउन आउन छोडेको विभागको भनाई छ ।
भ्याटमा दर्ता भएका कम्पनीहरु सम्पर्कमा आउन छोडेपछि सरकारले चालु वर्षको बजेटबाट ५० प्रतिशत सम्म कर छुटको नीति ल्याएको थियो । उपमहानिर्देशक पाण्डेका अनुसार फागुन मसान्त सम्ममा यी करदाताले विवरण पेश गरेमा हाल सम्मको कर र सोको ब्याजमा ५० प्रतिशत छुट हुनेछ भने जरिवाना पनि लाग्ने छैन ।