२०७७ चैत्र ३० , सोमवार

कोरोना संक्रमणबारे नयाँ तथ्य फेला, पैसा र फोनमा २८ दिनसम्म भाइरस रहने

सुनाखरी न्युज/

काठमाडौं – कोरोना भाइरस विभिन्न बस्तु तथा सतहमा झण्डै एक महिनासम्म बाँच्न र संक्रमण गर्न सक्ने अनुसन्धानबाट फेला परेको छ । अस्ट्रेलियाको नेसनल साइन्स एजेन्सीले हालै गरेको अनुसन्धानले कोरोना भाइरस पैसा, फोनको स्क्रिन तथा स्टेनलेस स्टिलमा २८ दिनसम्म जीवित रहन सक्ने तथ्य फेला पारेको छ । यसअघि गरिएको अनुसन्धानमा नोट तथा ग्लासमा २ देखि ३ दिनसम्म मात्र भाइरस बाँच्न सक्ने भनिएको थियो । तर, नयाँ अनुसन्धानले थप सचेत र सतर्क रहनुपर्ने देखाएको छ ।

 

कोभिड सार्स –२ नाम दिइएको यो भाइरस सोचेभन्दा निकै लामो समयसम्म जीवित रहने तथ्य फेला परेको अनुसन्धानकर्ताहरुले बताएका छन् । मुख्य रुपमा कोरोना भाइरस संक्रमित व्यक्तिले खोक्दा, हाच्छ्यु गर्दा, बोल्दा अर्को व्यक्तिमा सर्ने गर्दछ । साथै हावामा तैरिएका संक्रमित व्यक्तिका छिटाबाट पनि भाइरस संक्रमण हुन सक्ने तथ्य फेला परेको छ । यसैगरी, संक्रमित व्यक्तिले छोएको प्लास्टिक तथा फलामका बस्तु अर्को व्यक्तिले छुँदा पनि संक्रमण फैलिने सम्भावना रहेको बताइएको छ ।