२०७७ चैत्र ३० , सोमवार

यस वर्षको दशैंमा नयाँ नोट वितरण हुँदैन : राष्ट्र बैंक

सुनाखरी न्युज/ काठमाडौं – यो वर्षको दशैंमा नयाँ नोट वितरण नहुने भएको छ । नेपाल राष्ट्र बैंकले सूचना निकालेर कोरोना भाइरस महामारीका कारण यो वर्षको चाडबाडमा नयाँ नोट वितरण नहुने जनाएको हो । नयाँ नोट सटहीका क्रममा भीडभाड हुन सक्ने र कोरोना संक्रमणको जोखिम रहेकाले नोट वितरण नगर्ने निर्णय भएको राष्ट्र बैंकले बताएको छ ।

 

यसअघि राष्ट्र बैंकले ग्राहकले आफ्नै खाता रहेको बैंकबाट नोट लिन सक्ने बताएको थियो । तर कोरोना संक्रमण उच्चरुपमा फैलिन थालेपछि नयाँ नोट नै नदिने निर्णयमा राष्ट्र बैंक पुगेको हो । नयाँ नोट दिंदा बैंक तथा वित्तीय संस्थामा समेत निकै भीडभाड हुन सक्ने भएपछि अन्तिम अवस्थामा आएर वितरण नगर्ने निर्णयमा पुगिएको केन्द्रीय बैंकका अधिकारीहरुको भनाई छ । बैंकले दशैंलगायत चाडबाडमा सर्वसाधारणका लागि साना दरका नयाँ नोटको सटही व्यवस्थापन गर्दै आएको थियो ।

तर, दशैं संघारमा आइपुग्दा समेत विश्वव्यापी महामारी कोभिड १९ को संक्रमण नेपालमा झन् तीव्र गतिमा बढ्दै गएको भन्दै यो वर्ष नयाँ नोट वितरण नहुने राष्ट्र बैंकले स्पष्ट पारेको हो । राष्ट्र बैंक, अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा समेत संक्रमण बढेको भन्दै नयाँ नोट सटहीका कारण अझ बढी भीडभाड हुने भएकाले राष्ट्र बैंकका कुनै पनि कार्यालयबाट नयाँ नोट वितरण नहुने भनिएको छ ।