२०७७ मंसिर १२ , शुक्रवार

महासंघ मेरा लागि मन्दिर हो, फोटोमात्र झुन्ड्याउन आएको होइनः गोल्छा

Shekhar Golcha

नेपालको उद्योग ब्यवसायको क्षेत्रमा शेखर गोल्छा एक स्थापित ब्यक्ति हुन । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उृपाध्यक्ष रहेका उनी महासंघको आगामी महाअधिवेशनपश्चात स्वतः अध्यक्ष वन्दै छन् । महासंघमा फोटो झुण्ड्याउनमात्र नभई संस्थालाई मन्दिरको रुपमा मानेर ब्यवहासयीको हक, हित र अधिकारको पक्षमा लाग्न आफू त्यहाँजान लागेको बताउँछन् उनी । कोरोना भाइरसको महामारी, झण्डै चार महिनालामो लकडाउन र मुलुकको विद्यमान अर्थतन्त्रका बारेमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छासँग लिएको अन्तर्वार्ताको सम्पादित अंश:

बजारको गतिविधि लकडाउन खुलेपछिको कस्तो छ ?

लकडाउन खुलेपछि जसरी बजारमा माग बढ्छ भन्ने हामीले अपेक्षा गरेका थियौं त्यसरी भएको छैन। सुरूमा कुनै वस्तुको माग राम्रो देखिएको थियो। त्यो छोटो समयमा लागिमात्र भयो। सामान्य अवस्थामा पनि खासै उत्साहजनक नहुने निर्माण सामग्रीको व्यापार झनै शिथिल भएको छ। गत वर्षको साउनको तुलना गर्दा ६० प्रतिशत जतिमात्र छ। सामान्य अवस्थामा साउनमा सिर्जना हुने मागको तुलनामा ३० देखि ४० प्रतिशत घटेको छ। रेडिमेड गार्मेन्ट, जुत्ता लगायतका वस्तुको मागमा खासै उकालो लागेको छैन। यो वर्षको गर्मीयाममा नै बन्द भएर खुलेको बजारमा पनि ग्राहक नै नपाइएको व्यवसायी साथीहरूले गुनासो गरिरहनुभएको छ।

तर इलोक्ट्रोनिक्स अन्तर्गत मोबाइल फोनको माग राम्रो भइरहेको छ। यसको मुख्य कारण भारतमा पनि लकडाउन भयो। सामान्य अवस्थामा ग्रे मार्केटबाट पूर्ति हुने माग पनि अहिले वास्तविक बजारमै डाइभर्ट भयो। लकडाउनले ग्रे च्यानल रोकिएकाले वास्तविक माग देखिन थालेको छ। अर्को अनलाइन सिकाइ लगायतका गतिविधि बढेकाले विक्री राम्रो देखिएको छ।  होटल तथा रेष्टुरेन्ट क्षेत्रको सेल्स त सबैलाई थाहा छ। अहिले पर्यटक छैनन्। अझै १ वर्ष नआउन पनि सक्छ। रेष्टुरेन्टमा केही ग्राहक देखिन थालेका छन्। तर पर्यटकमा आधारित रेष्टुरेन्टमा संकट कायमै छ। यो क्षेत्रका व्यवसायीहरूलाई ऋण नै कसरी तिर्ने भन्ने चिन्ताले सताएको छ।

अटोमोटिभ क्षेत्रमा चार पांग्रे ठप्प छ तर दुई पांग्रेको राम्रो देखिएको छ। वैशाख र जेठमा कारोबार ठप्प भएकाले त्यसको ‘क्यारिओभर’ भएको जस्तो पनि देखिएको छ। कोरोनाको त्रास कायमै भएकाले सकेसम्म मान्छेहरू प्राइभेट साधनप्रति आकर्षित भएका छन्। यही कारणले पनि हुनसक्छ माग असाध्यै राम्रो सिर्जना भइरहेको छ। सेवाका अन्य क्षेत्रमा माग न्यून छ। अहिले पनि शिथिलता कायमै छ। केही क्षेत्रमा चाँदीको घेरा भए पनि समग्रमा अर्थतन्त्र चलायमान छैन। यो केही समयसम्म रहन्छ होला।

बजारमा यस्तै शिथिलता आउँछ र त्यसलाई चलायमान बनाइराख्नका लागि भनेर हामीले अर्थतन्त्रको ४ प्रतिशत वित्तीय उत्प्रेरक प्याकेज सरकारले ल्याउनुपर्छ भनेका थियौं। त्यो पैसा सबैभन्दा गरिब वर्गलाई कुनै न कुनै रूपले बाँड्न सकेको भए अर्थतन्त्रमा आउँथ्यो र चलायमान हुन्थ्यो। तर हामीले भनेजसरी प्याकेज आएन। मौद्रिक नीतिले व्यवसायीहरूका लागि राहत हुनेखालको व्यवस्था गरेको छ। तर बजेटले गर्नुपर्ने उपभोक्ताका लागि राहत लागू नहुँदा बजारको समीकरण मिल्न सकिरहेको छैन।

मौद्रिक नीतिले उद्योगी व्यवसायीका लागि  राहत ल्यायो ?

मौद्रिक नीतिले पक्कै पनि तिर्न नसकेको ऋण पछि तिर्न मिल्ने सहुलियत दिएको छ। ब्याजदर घटाउनका लागि आवश्यक टुल्स प्रयोग गरेको छ। जसले गर्दा राहत दिन्छ। त्यस्तै पुनर्कर्जा ठूलो ल्याएको छ। त्यसमा ५० अर्ब थप कोष पनि हुने भनिएको छ। यसले साना र मझौला उद्यमीलाई राहत दिनेछ। गरिब जनताका लागि फिस्कल पोलिसी९बजेट०ले बोलेको थियो। रोजगार विहीनहरूलाई राहत दिने घोषणा भएको छ। निस्शुल्क बिजुली, पानी र रासनसम्म पनि दिने घोषणा पनि गरेको छ। यसको कार्यान्वय हुँदासम्म लक्षित वर्गसम्म पुग्यो भने पक्कै पनि राम्रो परिणाम आउँछ।

सवारी साधनलाई सरकारले नै विलासी भनेर वर्गीकृत गरेको छ। अर्थतन्त्रमा यस्तो व्यापारले कसरी र कस्तो प्रभाव पारिरहेको हुन्छ ?

जहाँका जनता सहजै र सस्तोमा एक ठाउँबाट अर्को ठाउँमा जान सक्छन्, उनीहरू अर्थतन्त्रसँग जोडिन सक्छन्। जब यसरी अर्थतन्त्रमा जोडिनेहरूको संख्या धेरै हुन्छ तब अर्थतन्त्रको विकास पनि चाँडो हुन्छ। उदाहरणका लागि अहिले हाम्रो ७४ जिल्लामा बाटोघाटो पुगेको छ। त्यहाँका मान्छेहरू पनि अर्थतन्त्रमा जोडिन थालेका छन्। त्यसपछि त्यहाँका उत्पादन मूलधारको बजारमा आउँछन्। अटोमोबाइल भनेको कारमात्र होइन ट्रक,सार्वजनिक यातायातका साधन पनि हुन्छन्। अटोमोबाइलले किफायती बढाउँछ। एउटा मान्छेले थप समय निकाल्न सक्छ। एकातिर त्यसबाट उसले उत्पादन बढाउँछ,अर्कोतिर आम्दानी पनि बढाउँछ। त्यसको फाइदा समग्र अर्थतन्त्रदेखि व्यक्तिगत जीवनसम्म पुग्छ।

अर्कोतिर हाम्रो नेपालको सन्दर्भमा कूल राजस्वको ३० देखि ४० प्रतिशतसम्म यही क्षेत्रले योगदान गर्छ। यो क्षेत्र जब डाउन हुन्छ सिधै असर सरकारको खातामा देखिन्छ। अहिले सरकारले राजस्व कम उठाउनुको एउटै कारण अटो क्षेत्र डाउन हुनु हो। राजस्व घट्नु भनेको सरकारले दिने सेवा र सुविधामा पनि खुम्चिनु हो। यसबाट सरकारको ढुकुटीदेखि जनताको दैनिकीसम्म असर गर्छ। यो क्षेत्रलाई बढाउनका लागि सरकारले सहज ऋण दिने व्यवस्था गर्नुपर्छ। सजिलै किन्नसक्ने व्यवस्था गरिनुपर्छ।

लकडाउन खोलेर झनै समस्या देखिएको हो ?

पक्कै पनि हामीले माग गरेको हो। सरकारले केही हदसम्म खोलेको पनि छ। तर तुलनात्मक जोखिम के छरु त्यो हेर्नुपर्छ। लकडाउन खोल्दा जोखिम बढ्छ भन्नेमा त कुनै दुईमत नै छैन। तर लकडाउनमै रहँदा हुने जोखिमको तुलनामा अहिलेको जोखिम कत्रो होरु यसको मूल्यांकन हुनुपर्छ। मेरो विचारमा लकडाउनमै बसिरहँदा हुने जोखिम धेरै थियो। आत्महत्याको फिगरमात्र होइन सहज आवागमन नहुँदाका कारण कोरोना बाहेकका रोगबाट जीवन गुमाउनेहरूको संख्या पनि सानो थिएन। त्यो अझै बढ्दै जाने जोखिम थियो। त्यस्तै, अर्थतन्त्र पनि झन्डै शून्यमा झरेको थियो। दैनिक १० अर्ब हुने व्यापार ९ अर्ब रुपैयाँ पनि भएको थिएन। कतिले रोजगारी गुमाउँथे। कति गरिबी बढ्थ्यो। यो कुरा पनि हेरिनुपर्छ। तर फेरि पनि म के भन्छु भने कोभिड-१९ हामी बीचमै छ। अहिलेसम्म गएको छैन। त्यसैले गर्दा सुरक्षाका उपकरण मास्कदेखि सामाजिक दूरीसम्म लागू गर्नेमा हामी सबै गम्भीर हुनुपर्छ।

कोरोनाले अवसर पनि छ होला नि ?

धेरै अवसर ल्याएको छ। यसबाट सबभन्दा पहिलो अवसर भनेको आइटी सम्बन्धित हो। यसमा नगदविहीन कारोबार सेवा हो। प्रविधिमा आधारित पूर्वाधार तथा व्यवसायमा सम्भावना उजागर गरिदिएको छ अहिलेको समयले। अबको समयमा सायद स्वास्थ्यमा खर्च बढ्छ होला। त्यसले माग पनि बढाउँछ। त्यसले स्वभाविक रूपमा यो क्षेत्रमा लगानीको माग गर्छ। स्यानिटाइजरदेखि अस्पतालसम्म लगानी बढ्नसक्छ। त्यस्तै अनलाइन व्यापार,डेलिभरी,अनलायन सिकाइ सम्मका गतिविधि फस्टाउने देखिन्छ। यसमा पनि स्वभाविक अवसर सिर्जना हुने देखिन्छ।

आपूर्ति प्रणाली कमजोर छ ?

नेपालमा किसानले उत्पादन गरेका वस्तुको उपभोक्तासम्म पुग्ने तह कम गरेर सुदृढ बनाउनुपर्छ। यसका लागि त्यस्तै वेयरहाउस,कोल्डस्टोरेज अहिलेसम्म खासै छैनन्। यातायात त हाम्रोमा सधैं समस्याका रूपमा रहेको छ। यी सुधार हुनुपर्छ र यसमा सबैको उत्तिकै भूमिका चाहिन्छ। आइटी सम्बन्धित व्यापारमा व्यक्तिगत रूपमा प्रयास हुने तर यसमा ठूलो संगठित क्षेत्रको लगानी भइरहेको छैन र प्रयोगका हिसाबले पनि अहिलेसम्म म्यानुअल नै बढी प्रिय छ भन्ने आरोप छ।

यो महामारीले सम्भावनाको ढोका खुल्ला ?

तुलनात्मक रूपमा हेर्ने हो भने परिवर्तन भइरहेको छ। संगठित क्षेत्रले अहिले नगदविहीन कारोबार गरिरहेको छ। धेरै परिवर्तन भइसकेको छ। आउने समयमा छलाङ हुने सम्भावना छ। डिजिटल इकोसिस्टम पूरै प्रयोगमा आउनका लागि सबैतिर उत्तिकै सहज हुनुपर्छ। अहिलेसम्म नेपालमा कतिपय टुल्समा नियमकको कडा अवरोधहरू पनि छन्। जस्तैस् नगदविहीन कारोबारमा नियमकले धेरै प्रतिबन्धात्मक व्यवस्था गर्दा पनि सहजीकरण हुन कठिन भएको थियो। रिटेल लेभल पनि नगदलाई निरूत्साहित गर्नुपर्छ। त्यसपछि सुधार भएर जान्छ।

नेपाल उद्योग वाणिज्य महासंघको वेटिङ अध्यक्ष हुनुहुन्छ। चैतमै हुनुपर्ने साधारणसभा कोरोनाका कारण सर्दै आएको छ। कि ?

म अध्यक्ष भएपछि गर्ने कामका योजना पनि बनाइसकेको छु। त्यसका लागि म आतुर छु। तर मभन्दा र मेरो आकांक्षाभन्दा ठूलो महासंघको गरिमा हो। अहिलेको समयमा कोरोनाको आतंक छ। यस्तो समयमा चुनाव गर्दा महासंघकै गरिमा घट्छ। यस्तो बेला चुनाव गर्दा संक्रमण फैलिने खतरा छ। म यस्तो बेला चुनावका लागि इच्छुक छैन। जुनबेला सहज तरिकाले चुनाव गर्नसकिने वातावरण सिर्जना हुन्छ त्यतिबेलामात्र गर्नुपर्छ।

महासंघको नेतृत्व सम्हालेपछिको योजना के छ ? संस्थालाई कसरी अगाडि बढाउनुहुन्छ ?

महासंघ मेरा लागि मन्दिरजस्तै हो। यो निजी क्षेत्रको मन्दिर पनि हो। मेरा बाबु बाजेले आफ्नो रगत पसिना महासंघ निर्माणमा बगाउनुभएको छु। पहिलो विधानको पहिलो ड्राफ्ट नै मेरो बुवाले बनाएर दिनुभएको थियो। निरन्तर रूपमा हाम्रो परिवारको संलग्नता पनि छ। त्यसैले मेरा लागि यो मन्दिरसरह नै छ। मैले आफ्नो कार्यकालमा जुन उद्धेश्यका लागि महासंघ बनेको थियो। त्यतातिर लिन सके भने धोको पूरा हुन्छ। म यहाँ फोटो झुन्ड्याउनका लागि पक्कै पनि आएको होइन। यसका लागि कुनै सोख छैन। यदि यसो हुन्थ्यो भने अहिले नै कुर्सीमा बसिसकेको हुन्थें। म यहाँ काम गर्न आएको हो। यसको गरिमा बनाउने हो। मेरो चाहना निजी क्षेत्रमा एउटै उद्धेश्यका लागि लागेका संस्थाहरूको सिनर्जी एउटै बनाउनुपर्छ भन्ने छ। हामीले कार्यगत एकतासहित आउनु आवश्यकता देख्छु।