२०७७ असार २५ , बिहिवार

उर्जा विकास कार्यालय दैलेखका निमित्त प्रमुख मल्लसहित ४ जना घुससहित पक्राउ

CIAA#

सुनाखरी न्युज/ काठमाडौं – खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख इन्जिनियर टोपेन्द्र सुन्दर मल्लसहित ४ जना घुससहित पक्राउ परेका छन्। उनीहरु २ लाख ४१ हजार १६ रुपैयाँ घुससहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

 

जिल्लाको भगवतीमाई गाउँपालिका वडा नं ३ सानटडा खोला तटबन्धन निर्माण कार्य सम्पन्न भए पश्चात भुक्तानीमा सहजीकरण गरिदिने भनी मल्ल र सव-इन्जिनियर वीरेन्द्र चन्दले सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले पक्राउ गरेको हो। आयोगका अनुसार मल्ललाई कार्यालय परिसरबाट र सव इन्जिनियर चन्दलाई खटिएको कार्यस्थलबाट नियन्त्रणमा लिइएको हो। खानतलासीका क्रममा मल्लको आवासबाट उक्त नगद बरामद भएको आयोयले जनाएको छ।

 

अनुसन्धानको सिलसिलामा सव इन्जजिनियर रन्जित श्रेष्ठ र सुरपभाइजर लक्ष्मी पाण्डे पनि पक्राउ परेका छन्। मंगलबार पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

 

खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख(इन्जिनियर) टोपेन्द्र सुन्दर मल्लसमेत ४ जना घुस/रिसवतसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।०३।१७ गते ।
—————————————————-
जिल्ला दैलेख, भगवतीमाई गाउँपालिका वडा नं.३ सानटडा खोला तटवन्धन निर्माण कार्य सम्पन्न भए पश्चात भुक्तानीमा सहजिकरण गरिदिने भनी खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख(इन्जिनियर) टोपेन्द्र सुन्दर मल्ल र सव-इन्जिनियर विरेन्द्र चन्दले सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले निज निमित्त कार्यालय प्रमुख(इन्जिनियर) टोपेन्द्र सुन्दर मल्ललाई कार्यालय परिसरबाट र सव-इन्जिनियर विरेन्द्र चन्दलाई खटिगइको कार्यस्थलबाट नियन्त्रणमा लिए पश्चात खानतलासी गरिएकोमा टोपेन्द्र सुन्दर मल्लको आवासबाट रू.२,४१,०१६।– (दुई लाख इकचालिस हजार सोह्र) नगद बरामद गरी यस सम्बन्धमा अनुसन्धानको सिलसिलामा सव-इन्जजिनियर रन्जित श्रेष्ठ र सुरपभाइजर लक्ष्मी पाण्डे समेत गरी निजहरू चारै जनालाई मिति २०७७।०३।१६ गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । 

 

प्रवक्ता 
प्रदीपकुमार कोइराला

Share this news: