२०७७ असार २५ , बिहिवार

नेकपा विवाद उत्कर्षमाः राजीनामा मागिएपछि प्रधानमन्त्री ओलीमाथि नैतिक दबाब

nekapa-sthayi-samiti#

सुनाखरी न्युज/ काठमाडौँ —

सत्तारुढ दल नेकपाभित्रको सत्तासंघर्ष उत्कर्षमा पुगेको छ । स्थायी कमिटीको मंगलबारको बैठकमा पार्टी अध्यक्षसहित सचिवालय सदस्य र स्थायी कमिटी सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओलीको दुवै पदबाट राजीनामा मागेपछि नेकपाभित्रको शक्तिसंघर्ष नयाँ चरणमा प्रवेश गरेको देखिएको हो ।

एक साताअघि सुरु भएको स्थायी कमिटी बैठकका नियमित एजेन्डामा छलफल भइरहेका बेला पछिल्लोपटक आइतबार प्रधानमन्त्री ओलीले आफूलाई हटाउन भारतीय राज्यसंयन्त्र, काठमाडौंस्थित भारतीय दूतावास र आफ्नै पार्टीका केही नेता लागेको अभिव्यक्ति दिएपछि स्थायी कमिटीमा त्यसमाथि चर्को प्रतिक्रिया आएको हो ।

आइतबार प्रधानमन्त्री ओलीले आफूलाई हटाउन भारतीय राज्यसंयन्त्र लागेको सार्वजनिक अभिव्यक्ति दिएपछि यो मुद्दा जारी स्थायी कमिटी बैठकमा प्रमुखताका साथ उठेको हो । स्थायी कमिटीमा दाहाल–नेपाल पक्षको बहुमत छ । यही समूहले राजीनामा मागेपछि प्रधानमन्त्री ओलीमाथि नैतिक दवाव सिर्जना भएको छ । यद्यपि मंगलबार प्रधानमन्त्री ओलीले आफ्नो अभिव्यक्तिको बचाउ गरेका छन् ।

निर्वाचन आयोगमा नेकपा एमाले नामको दल दर्ताका लागि निवेदनसमेत परेको विषयले बैठकमा प्रवेश पाएपछि थप आंशका जन्मिएका छन् । दल दर्ताका लागि भएको प्रयासमा दाहाल–नेपाल समूहले ओलीलाई जिम्मेवार ठानेको छ । तर, ओलीले यसलाई अस्वीकार गरेका छन् ।

 

Share this news: