२०७७ असार २२ , सोमवार

एमसीसी अनुमोदनमा ढिलाईहुँदा नेपालीलाई फाइदा दिलाउन ढिलाईः अमेरिका

अर्थ

MCC#

सुनाखरी न्युज/ काठमाडौँ — मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई संसदीय अनुमोदनमा ढिलाई गर्नुको मतलब नेपालीलाई फाइदा दिलाउन ढिलाई गर्नु हुने अमेरिकाले जनाएको छ । एमसीसी सम्झौताबारे वक्तव्य जारी गर्दै नेपालस्थित अमेरिकी राजदुतावासले सोमबार  अनुमोदनमा ढिलाइ गर्नुको मतलब झन्डै २ करोड ३० लाख नेपालीलाई थप रोजगारी तथा आर्थिक वृद्धिमा बढोत्तरीका फाइदा दिलाउनमा ढिलाइ गर्नु रहेको जनाएको हो ।

वक्तव्यमा दुई देशले एमसीसीमा सेप्टेम्बर २०१७ मा हस्ताक्षर गरेको र नेपालले सेप्टेम्बर २०१९ भित्र अनुमोदन गर्ने प्रतिबद्धता जनाएको उल्लेख छ । ‘यस ५० करोड डलरको अनुदानलाई अगाडि बढाउन आवश्यक अघिल्लो कदम अनुमोदन हो,’ विज्ञप्तिमा भनिएको छ ।

नेपालले असार १६ गते भित्रमा सम्झौताको शर्तअनुसार संसदबाट उक्त सम्झौतालाई अनुमोदन गरिसक्नु पर्ने थियो । तर, सत्तारुढ दल नेकपाभित्रकै विवादको कारण एमसीसी संसदबाट अनुमोदन गर्ने वा नगर्ने भन्ने पार्टीले टुंगो लगाउन सकेको छैन । एमसीसी सम्झौताको दस्तावेज अहिले प्रतिनिधि सभाको विधेयक शाखामा गत असार ३० गतेदेखि थन्किएर बसिरहेको छ ।

विज्ञप्तिमा एमसीसीको अनुमोदन नेपालको संसद्बाट भइनसकेको बारेमा अमेरिका जानकार रहेको उल्लेख छ । ‘यो अनुदान स्वीकार गर्नु नेपालको रोजाइको विषय हो । तर, यस अन्तर्गतको कोषको उपलब्धता सधै खुला रहँदैन । यो कार्यक्रमको व्यावहारिकताको निरन्तरता सुनिश्चित गर्न नेपालमा ठोस, निकटवर्ती कदम जरुरी छन्,’ विज्ञप्तिमा भनिएको छ । ‘यस सम्झौताले विद्युत् प्रसारण पूर्वाधारको निर्माण र सडक मर्मतसम्भारका क्रियाकलाप गरेर २ करोड ३० लाख नेपालीलाई प्रत्यक्ष रूपमा लाभान्वित गर्नेछ’ विज्ञप्तीमा भनिएको छ।

Share this news: