२०७७ असार २२ , सोमवार

एप र सामाजिक सञ्जाल सरकारको स्वीकृतिपछि मात्रै प्रयोग गर्न दिन निर्देशन

सञ्चार - प्रबिधि

सुनाखरी न्युज/काठमाडौँ — संसदको विकास तथा प्रविधि समितिले कुनै पनि एप वा सामाजिक सञ्जाल प्रयोग गर्नुअघि नियामक निकायबाट स्वीकृत गर्नुपर्ने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको शुक्रबार बसेको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

 

समितिको निर्देशनले असान्दर्भिक भएको भन्दै सामाजिक सञ्जालमा यसको विरोध भएको छ । नेपाल प्रहरी सञ्चार निर्देशनालयका पूर्व प्रमुख डीआइजी राजीव सुब्बाले ट्वीट गर्दै लेखेका छन्,‘सरकारको अनुमतिमा मात्र एप डाउनलोड गर्न सकिने व्यवस्था मिलाउन दिएको निर्देशन समय सान्दर्भिक छैन ।’

संसदको विकास समितिको सभापति कल्याणी खड्का जुमजस्ता वेब एपमा सुरक्षा कमजोरी देखिएकाले सरकारले नियमन गर्नुपर्ने तर्क गर्छिन् । ‘हचुवाको भरमा नियमन गर्ने होइन यसको लागि पनि कार्यविधि र कानुन बन्छ,’ उनी भन्छिन्, ‘हरेक क्षेत्रमा राज्यले नियमन गरिरहेको छ, यो क्षेत्रलाई पनि नियमन गर्नुपर्छ ।’

 

नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहालले समितिको निर्देशनप्रति व्यङ्ग्य गर्दै लेखेका छन्, ‘संसदीय समितिले सिधैं उत्तर कोरियाको जस्तै इन्टरनेट नीति बनाउ भनेर एक बुँदे निर्देशन दिएको भए भैहाल्थ्यो । दुनियाँ हसाउने यस्तो निर्देशन पनि दिने हो ?’

 

 

समितिले सरकारी पत्र, कागजात, सूचना एवम् जानकारीहरु सरकारी इमेल र वेबसाइटबाट मात्र प्रयोग हुने व्यवस्था गर्न पनि निर्देशन दिएको छ । सरकारले यसअघि नै सरकारी कर्मचारीले कामकाजको लागि सरकारी इमेल मात्रै प्रयोग गर्न निर्देशिका जारी गरेको भए पनि यसको प्रभावकारी कार्यान्वयन भएको छैन । समितिले अन्य इमेल र वेबसाइट प्रयोग गर्दा सरकारी तथ्यांक तथा जानकारी दुरुपयोग हुन सक्ने भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो ।

 

Share this news: